एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बर भएको एम्बुलेन्सले उराँव सवार भएको प्रदेश ०१–०२–०४१ प २१५५ नम्बरको स्कुटरलाई आइतबार साँझ ठक्कर दिएको थियो ।  

ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रूपमा कार्यरत रहेकी थिइन । 

एम्बुलेन्स चालक सप्तरी विषनपुर ५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : ३५ बजे