आदिवासी प्रतिनिधित्वका लागि संयुक्त राष्ट्र प्रकृति शिखर सम्मेलनद्वारा निकाय स्थापना

काली (कोलम्बिया)। विश्वको सबैभन्दा ठूलो प्रकृति संरक्षण सम्मेलनले शुक्रबार कोलम्बियाको कालीमा संयुक्त राष्ट्रसङ्घको जैविक विविधता सम्मेलनअन्तर्गत आदिवासी जनताको हितको प्रतिनिधित्व गर्न एउटा स्थायी निकाय स्थापना गर्न सहमति जनाएको छ ।

एक सय ९६ देशहरूले ‘आदिवासी जनता र स्थानीय समुदायसँग सम्बन्धित विषयहरू’ का लागि समर्पित एउटा ‘सहायक निकाय’ स्थापना गर्न सहमति जनाएपछि परम्परागत पोशाक र शिरपेचमा सजिएका आदिवासी जनताका प्रतिनिधिहरूले हर्षोल्लासका साथ जयजयकार गरेका थिए ।

यो जैविक विविधतासम्बन्धी संयुक्त राष्ट्रसङ्घको सम्मेलनको १६औँ पक्ष सम्मेलन ९कोप१६० को पहिलो ठूलो सफलता थियो । यो करिब दुई हप्ताअघि कालीमा सुरु भएको थियो र प्रकृति संरक्षणका योजनाहरूका लागि कोष जुटाउने तरिकाहरूमा प्रतिनिधिहरू बीच मतभेद भएपछि शुक्रबार अतिरिक्त समयसम्म चलेको थियो ।

“यो वातावरणसम्बन्धी बहुपक्षीय सम्झौताहरूको इतिहासमा एक अभूतपूर्व क्षण हो”, चिलीकी आदिवासी प्रतिनिधि कमिला रोमेरोले शिखर सम्मेलनमा खुसी व्यक्त गर्दै भन्नुभयो । सम्मेलनको विषय ‘प्रकृतिसँग शान्ति’ रहेको थियो ।

उहाँले भन्नुभयो, “पक्षहरूले हाम्रो पूर्ण र प्रभावकारी सहभागिता, हाम्रो ज्ञान र नवप्रवर्तन, प्रविधि र परम्परागत अभ्यासहरूको निरन्तर आवश्यकतालाई मान्यता दिएका छन् ।”

प्रतिनिधिहरूले नयाँ सहायक निकायमा अफ्रिकी मूलका समुदायहरूको विशिष्ट भूमिकामा पनि सहमति जनाएका छन् । यद्यपि केही विवरणहरू अझै टुङ्गो लगाउन बाँकी छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १ : ४६ बजे