जेरुसेलम, २३ असोज (रासस/एएफपी) : हिजबुल्लाह लडाकू र इजरायली सेनाबीच लेबनान–इजरायल सीमामा गोलीबारी हुँदै गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच बुधबार वार्ता हुने तयारी भइरहेको छ ।
हिजबुल्लाहले आफ्ना लडाकूहरू दक्षिणी लेबनानमा इजरायली सेनासँग झडपमा उत्रिएको बताएको छ । उनीहरूले रकेट प्रक्षेपण हतियार प्रयोग गरेर इजरायलको सीमा उल्लङ्घन गर्ने प्रयासलाई रोक्न खोजेको बताएका छन् ।
अधिकारीहरूका अनुसार उत्तरी इजरायलको किर्यात शमोनामा संदिग्ध हिजबुल्लाह रकेट आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने इजरायली हवाई सुरक्षाले तटीय सहर कैसरियातर्फ प्रक्षेपण गरिएको दुई क्षेप्यास्त्रलाई रोकेको छ ।
लडाइँ जारी रहँदा नेतान्याहूले लेबनानले ‘गाजामा देखिएजस्तै लामो युद्ध’ को सामना गर्न नसक्ने चेतावनी दिइरहनुभएको छ । यस्तो अवस्थामा इरान प्रत्यक्ष रूपमा संलग्न हुनसक्ने द्वन्द्व क्षेत्रीय युद्धमा परिणत हुनबाट बाइडेनले रोक्न खोज्न हुने अपेक्षा गरिएको छ ।
विषयसँग परिचित स्रोतका अनुसार बाइडेनले सात हप्तापछि पहिलो पटक बुधबार नेतान्याहूसँग कुरा गर्नुहुनेछ । गत साता इरानले गरेको क्षेप्यास्त्र आक्रमणको जवाफमा इजरायलको प्रतिक्रिया एजेन्डामा उच्च प्राथमिकतामा रहने अपेक्षा गरिएको छ ।
बाइडेनले ठूलो प्रतिशोधको जोखिम निम्त्याउन सक्ने इरानको आणविक कार्यक्रममाथि आक्रमण गर्ने प्रयास नगर्न इजरायललाई सावधान गराउनुभएको छ । साथै उहाँले विश्व कच्चा तेलको मूल्य बढाउन सक्ने इरानका तेल प्रतिष्ठानहरूमा हुनसक्ने आक्रमणको पनि विरोध गर्नुभएको छ ।
अनुभवी अमेरिकी पत्रकार बब वुडवर्डको नयाँ पुस्तकले बाइडेन र नेतान्याहूबीच बढ्दो तनावको विवरण दिएको छ । न्युयोर्क टाइम्सका अनुसार बाइडेनले जुलाईमा नेतान्याहूलाई ‘विश्वभर क्रमशः तपाईं अराजक राज्य र दुष्ट अभिनेता हो भन्ने इजरायलको धारणा बढ्दैछ’ भन्नुभएको थियो ।
प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार ९ : ३६ बजे
प्रतिक्रिया