कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम,व्यावसायमा लाग्ने युवाहरुको लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवाहरुमा कृषिमा प्रतिमोह बढेको हो । यहाँका युवाहरुले अहिले व्यावसायिक रुपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा मेहनत बगाएपनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यहि नै उद्यममा जुटेका हुन् ।
टेम्केमैयुङ गाउँपालिकाका स्थानीय गुणराज राउतले विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनु भएको छ । विदेशमा १५ वर्ष विताउनुभएका राउत अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लाग्नु भएको हो । “विदेशमा लामो समय विताए” उहाँले भन्नुभयो,“धेरै मेहनत गर्दा पनि सोचे जस्तो आम्दानी गर्न भएन । अहिले आफ्नै ठाउँमा व्यावसायिक रुपमा बाख्रापालनमा लागेको छु । बाख्रापालनबाट यहि राम्रो आम्दानी गरिरहेको छु ।”

विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ । मानिसहरुले विदेशमा बगाउने पसिना यहि बगाए देशलाई पनि योगदान पुग्ने राउतको भनाइ छ ।कृषकहरुलाई व्यावसायिक रुपमा बाख्रापालनको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । ग्रामिण भेगमा पशुचिकित्सकहरुको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उहाँले बताउनुभयो ।

विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिक रुपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताउनुभयो । उहाँले व्यावसायबाट वर्षमा रु.तीनदेखी पाँच लाखसम्म आम्दानी गर्दै आएको जानकारी दिनुभयो । टेम्केमैयुङ गाउँपालिका कुमार विष्टले विदेशबाट फर्केर व्यावसायिक किवी र एभोकाडोको खेती गरिरहेको बताउनुभयो । अबको केहि वर्षमा बार्षिक रु. छदेखी आठ लाखसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक विष्टको भनाइ छ । १५ रोपनी क्षेत्रमा किवीको व्यवसायिक खेती थालेको उहाँको भनाइ छ । किवीले यस वर्षबाट फल दिन थालेको उहाँले बताउनुभयो । “आफ्नै ठाउँमा केही गर्ने सोचले व्यावसायिक कृषि खेतीमा लागेको छु”उहाँले भन्नुभयो,“आफ्नै ठाँउमा योजनावद्ध रुपमा व्यावसायिक बन्न सकियो भने राम्रो आम्दानी लिन सकिन्छ । आफ्नै ठाउँमा नमूनायोग्य काम गर्ने सोचका साथ कृषि कर्ममा लागेको छु ।”

युवाले विदेश जान भन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्न सके जीवन गुजारा गर्न समस्या नरहेको उहाँको भनाइ छ । विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि स्वदेश फर्केर आएर व्यावसायिक रुपमा काम शुरुआत गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ५ : ३० बजे