यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

डिप्रोक्स नेपालले बनायो आठ हजारभन्दा बढी संरचना

काठमाडौँ। विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स) नेपालले आठ हजारभन्दा बढी संरचना निर्माण गरेको छ ।

डिप्रोक्स नेपालको ३२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक पीताम्बरप्रसाद आचार्यले संस्थाले गरिबी निवारणमा र महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको बताउनुभयो ।

विसं २०५० मा स्थापना भएको डिप्रोक्स नेपाल गैरसरकारी संस्था हो । नेपाल सरकार र ३७ वटा विभिन्न दातृ संस्थाको सहयोगमा ३१ वर्षको अवधिमा ६९ जिल्लामा ९७ वटा परियोजना सञ्चालन गरी करिब २० लाख जनसङ्ख्यालाई सेवा दिइसकेको संस्थाका निर्देशक कैलाश रिजालले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले गरिबी निवारण, लघुवित्त, प्राकृतिक स्रोत र विपद् व्यवस्थापन, आप्रवासनजस्ता क्षेत्रमा काम गर्दै आएका छौँ । हालसम्म आठ हजारभन्दा बढी पूर्वाधारको संरचना निर्माण हामीले गरिसकेका छौँ । ग्रामीण तथा सहरी क्षेत्रमा दुवैतिर सक्रिय रहेर काम गरिरहेका छौँ ।”

संस्थाले सञ्चालन गरिरहेको विभिन्न परियोजनाका लाभान्वित सदस्यहरूले परियोजनाले जीवनशैलीमा ल्याएको परिवर्तनबारे अनुभव बाँडेका थिए । वित्तीय साक्षरताले पैसा बचत गर्न र लगानी गर्न निकै सघाउ पुगेको एक सहभागीले अनुभव सुनाउनुभयो । गरिबी निवारणको उद्देश्य लिएर स्थापना भएको यस संस्थाले तीनै तहका सरकार र सरोकार भएका संस्थासँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : ०२ बजे