यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

शताब्दी पुरुष गौरीशङ्कर लाल दासको १०१औँ जन्मदिवस मनाइयो

काठमाडौँ। शताब्दी पुरुष गौरीशङ्कर लाल दासको १०१औँ जन्मोत्सव समारोह मानाइएको छ । बिहीबार साँझ यहाँ आयोजित कार्यक्रममा उहाँले आफ्नो नवीनतम् कृति ‘यादों के गलियारों मे’ संंस्मरणत्मक निबन्ध सङ्ग्रहको लोकापर्ण गर्दै जन्मदिवस मनाउनुभएको हो ।

पुस्तकमा उहाँले आफूले भोगेका विभिन्न चुनौतीहरूका विषयमा लेख्नुभएको छ । उहाँले मानवअधिकार आयोगको गठनको सुरुआती समयमा काम गर्नुभएको थियो । त्यससँग सम्बन्धित अनेक प्रसङ्गहरू पुस्तकमा समेटिएको छ ।

उहाँ विसं २००९ मा नै काठमाडौँ आउनुभएको थियो । लोकसेवा आयोगको सिफारिसमा सर्वप्रथम उहाँले वीर अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गर्न सुरु गर्नुभएको थियो ।

उहाँले मानवअधिकार आयोगका साथै क्षयरोग निवारण संस्था, नेपाल परिवार नियोजन सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी, नेपाल कुष्ठरोग निवारण सङ्घमा पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै योगदान दिनुभयो ।

आजबाट डा लालले अर्को शताब्दीमा प्रवेश गर्नुभएको खुसीमा जन्मोत्सव कार्यक्रम आयोजना गरिएको उहाँका जेठा छोरा आनन्दमोहन दासले जानकारी दिनुभयो । उहाँको स्वस्थ्य जीवन साकारात्मक सोच र क्रियाशीलताका कारण भएको उहाँका छोरा आनन्दमोहन बताउनुहुन्छ ।

पेसाले चिकित्सक डा लालको रुचि साहित्य र सङ्गीतमा पनि छ । उहाँ अहिले पनि लेखनमा सक्रिय हुनुहुन्छ । बाँसुरी र तबला वादन उहाँको अर्को सोख हो ।

डा लालकी कान्छी बुहारी रञ्जुका अनुसार उहाँ आज पनि आफ्नो ल्यापटमा घण्टौँ बसेर लेख्नसक्नुहुन्छ । सक्रिय भइरहने उहाँको बानी नै उहाँको दीर्घजीवनको कथा रहेको रञ्जु बताउँनुहुन्छ । डा दासको जन्म विसं १९८१ आश्विन कृष्ण द्वादशीको दिन भएको हो ।

डा लालले आफ्नो जन्मोत्सवमा सहभागी सबैप्रति कृज्ञता र अशीर्वाद प्रकट गर्दै भन्नुभयो, “एक सय वर्ष बाँच्नुपर्छ तर स्वस्थ्य जीवनशैलीका साथ राम्रोसँग सुन्ने र बोल्ने हुनुपर्छ । म अहिले ठीकै छु । र, तपाईँहरूको मायाका लागि आभारी छु ।”

डा लालको जन्मोत्सव समारोहमा प्रमुख अतिथिको आसनबाट शुभकामना प्रदान गर्नुहुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले शताब्दी पुरुषको सम्मान र उहाँको नाममा हुलाक टिकट र सिक्का निकाल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यकालमा सो कार्य पूर्ण गर्ने आश्वासनसमेत दिनुभयो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले डा लालको सक्रिय जीवनको कामना गर्दै प्रधानमन्त्रीसम्म उहाँको नाममा पेस गरिएको हुलाक टिकटलगायतका लागि विषय पुर्याउने बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले उहाँसँगको आफ्नो बाल्यकालको स्मृति स्मरण गर्नुभयो । कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा, विद्याधर मल्लिकलगायको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : ५८ बजे