झ्याप्लेखोलाबाट २५ शव निकालियो

काँग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना अपरान्ह्देखि

काठमाडौँ ।  नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ ।

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने जनाएको हो । 

निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्ह्देखि मत गणना सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पदाधिकारीको मतगणना गरिने छ । 

काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलवार पुनः मतदान भएको थियो । 

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको थियो । गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो । 

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हजार ७३३ मत प्राप्त गर्नुभएको थियो । सभापतिका प्रत्याशी डा शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गर्नुभएको थियो  । दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।

सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिनुभयो । 

उहाँले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्ने गरी व्यवस्थापन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “आजै अपराह्नबाट मत गणना सुरु गर्छौँ, पदाधिकारीबाटै मतगणना हुन्छ । हामी अहोरात्र खटेर मतगणना गर्छौँ र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौँ ।”

काँग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

मङ्सिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच काँग्रेसको  १४औँ महाधिवेशन उद्घाटन भएको थियो । मतदानका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो ।

सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य द्वय कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । रासस

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : ०६ बजे