झ्याप्लेखोलाबाट २५ शव निकालियो

महाकाली अस्पतालमा र्‍यालग्रन्थीमा रहेको ट्युमरको शल्यक्रिया

कञ्चनपुर । महाकाली अस्पतालमा र्‍यालग्रन्थीमा रहेको ट्युमरको सफल शल्यक्रिया गरी निकालिएको छ । 

र्‍यालीग्रन्थीको समस्याबाट पीडित भीमदत्त नगरपालिका १२ ऐरीकी ३५ वर्षीया लिला पन्तको ट्युमर निकालिएको हो । 

तीन वर्षदेखि कानको तल र्‍यालग्रन्थी रहेका ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि उहाँलाई शुक्रवार अस्पताल भर्ना गरिएको थियो । शनिवार उहाँको शल्यक्रिया गरेर ट्युमर निकालिएको हो । 

अस्पतालका नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डा प्रशान्त भट्टले र्यालग्रन्थीमा रहेको चार सेन्टिमिटर लामो र तीन सेन्टिमिटर चौडाइ बराबरको ट्युमर शल्यक्रिया गरी निकालिएको जानकारी दिनुभयो । ट्युमर समयमै निकालिँदा क्यान्सर हुनबाट जोगाइएको उहाँले बताउनुभयो । 

शल्यक्रिया गरिएका महिलाको स्वास्थ्य अवस्था सामान्य रहेका उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ । शल्यक्रियामा डा .भट्ट, डा.जेन्स थापामगर, एनएसथेसिया डा.दीपक ठकुराठी लगायतको सहभागिता रहेको थियो ।

शल्यक्रिया गरिएका महिलाका श्रीमान् मानप्रसाद पन्तले तीन वर्षदेखि श्रीमतीको कानमुनि मासुको गाँठा देखिएपछि उपचारका लागि निकटवर्ती भारतीयदेखि यहाँका धेरै अस्पतालमा पुगे पनि उपचार हुन नसकेको बताउनुभयो । 

“धेरै ठाउँमा देखायौँ”, उहाँले भन्नुभयो, “रु ६० हजार सकिँदासमेत निको भएन । महाकाली अस्पतालमा शल्यक्रिया गर्न रु ३७ हजार खर्च गरी सफल रूपमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएपछि निकै खुसी भएका छौँ ।” 

“कानमुनि पलाएको मासुको गाँठा पहिला सानो थियो । विस्तार बढ्दै गयो”, शल्यक्रिया गरिएकी लिलाले भन्नुभयो, “बढ्दै जान थालेपछि निकै दुख्नसमेत थाल्यो । अस्पतालमा शल्यक्रिया भएपछि अहिले सहज भएको छ ।”  रासस

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : ०० बजे