झ्याप्लेखोलाबाट २५ शव निकालियो

काँग्रेस महाधिवेशन: प्रविधिको प्रयोग गर्न नेताहरूलाई डर, निर्वाचनमा मतपत्रकै भर  

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ईलेक्ट्रोनिक विधिबाट मतदान गराउन निर्वाचन समितिले पार्टीको केन्द्रीय समितिमा प्रस्ताव पेस गर्‍यो । 

समितिले पेस गरेको प्रस्तावमा छलफल भयो । तर, काँग्रेसका नेता र नेतृत्वमा आउन चाहने उम्मेदवारहरू बीच प्रविधिमैत्री जमानामा ईलेक्ट्रोनिक भोटिङ सिष्टम लागु गर्ने विषयमा सहमति जुट्न सकेन ।

“यो प्रविधिकै जमाना हो । हामीले प्रविधिको प्रयोग गर्दा छिटो छरितो र त्रुटिहरू कम हुन्थ्यो । त्यसैले ईलेक्ट्रोनिक सिष्टमबाट भोटिङ गरौँ भनेर केन्द्रीय कमिटीमा प्रस्ताव पेस गरेका थियौँ । नेताज्यूहरू र उम्मेद्‌वारहरूबीच सहमति जुट्न सकेन”, निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले भन्नुभयो। 

ईलेक्ट्रोनिक प्रविधिबाट मतदान हुँदा प्रविधि नै ह्याक गरेर आफ्नो नामको मत बदर पनि हुन सक्ने डर नेता तथा उम्मेदवारहरूले देखाए । त्यसैले अहिले पुरानै प्रणालीबाट मतदान हुँदै  छ ।

निर्वाचन समितिले अहिलेसम्म छुट्टाछुट्टै कलस्टरमा गरी २९ वटा मतपत्र तयार पारेको संयोजक घिमिरेले बताउनुभयो ।  मत पेटिकाका लागि भने काँग्रेसले सूर्यदया कम्पनीको पानी ट्याङ्की प्रयोग गर्दैछ । “अहिले २९ वटा मतपत्र तयार भएको छ । तर, उम्मेदवारी फिर्ता लिने समय बाँकी नै छ । भोलि सम्ममा मतपत्र घट्न पनि सक्छ”, घिमिरे भन्नुहुन्छ ।

अहिले १ सय ३४ पदका लागि ५ सय ४८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । पुरानै मतदान प्रणालीअनुसार मतदान हुँदा एक जनालाई मतदान गर्न कम्तीमा आधा घण्टादेखि एक घण्टासम्म लाग्छ । 

अहिले काँग्रेसमा मतदान गर्नका लागि देशभरबाट चार हजारभन्दा  बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी छन् । ईलेक्ट्रोनिक प्रणालीबाट मतदान भएको भए छिटो मतदान हुन्थ्यो भने मत गणनाका लागि पनि धेरै समय लाग्दैनथ्यो । यस्तै, मत बदरको सम्भावना पनि हुँदैनथ्यो ।  तर, काँग्रेसका नेताहरूले प्रविधिको प्रयोग गर्न डराएर पुरानै मतदान प्रक्रिया अपनाउँदा मत बदरको सम्भावना पनि उच्च देखिन्छ भने मतदान र मतगणनाका लागि धेरै समय लाग्छ । नेताहरूले प्रविधिको प्रयोग गर्न नमानेका कारणले निर्वाचन समिति पनि खुसी छैन ।

“पार्टी भित्रको चुनाव हो । पार्टीका नेताहरूले नचाहेपछि हामीले मात्रै चाहेर हुँदैन । प्रविधिको प्रयोग गरेजस्तो सहज हुँदैन अहिले अपनाइएको प्रक्रिया । तर, सहमति नजुटेपछि के गर्नु ?”, संयोजक घिमिरेले भन्नुभयो । 

आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ भने मध्यान्ह सवा १२ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन भने भोलि सोमबार बिहान ८ः०० बजेदेखि सुरु हुनेछ ।  मतदानका लागि भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लबमा गरी तीन ठाउँमा मतदान गर्ने व्यवस्था  मिलाइएको निर्वाचन समितिले जनाएको छ । ।

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ५९ बजे