झ्याप्लेखोलाबाट २५ शव निकालियो

काँग्रेस महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज सुरु हुँदै

काठमाडौँ ।  नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज सुरु हुँदै छ । शुक्रवार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्द सत्र सकिएकोमा आज मनोनयन दर्ता हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ः०० बजेसम्म मनोनयनको कार्य तालिका छ । मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ ।

मनोनयन माथिको दाबी विरोध र नाम फिर्ता आइतबार हुनेछ भने सोमबार बिहान ८ः०० बजेदेखि मतदान सुरु हुनेछ ।

काँग्रेसमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सह महामन्त्री आठ पदका लागि निर्वाचन हुने व्यवस्था छ । 

केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था विधानमा छ । काँग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

काँग्रेसको नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवाले फेरि दाबी गर्नुहुने भएको छ  । उहाँले शुक्रवारको उद्घाटन सत्रमै मतदातासँग अपिल गर्दै भोट दिन आग्रह गर्नुभएको थियो । उहाँलाई नेता कृष्णप्रसाद सिटौला पक्षले पनि साथ दिने भएको छ ।

यसअघि सभापति देउवाकै पक्षमा रहनुभएका वर्तमान उपसभापति बिमलेन्द्र निधि पनि सभापतिका दाबेदार हुनुहुन्छ ।

त्यसबाहेक संस्थापन इतर पक्षबाट सभापतिका लागि साझा उम्मेदवारको खोजी भइरहेको छ । उक्त पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशाङ्क कोइराला र नेता शेखर कोइरालाले दाबी गरिरहेका छन् ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : ४६ बजे