झ्याप्लेखोलाबाट २५ शव निकालियो

पदाधिकारीमा आकाँक्षा राखिरहेका नेतासँग छलफल गर्दै  सभापति देउवा  

काठमाडौँ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज आफ्नो टिममा रहेका र पदाधिकारीमा आकाङ्क्षा राखिरहेका नेतासँग छलफल गर्नुहुने भएको छ ।

महाधिवेशनमा उम्मेदवारबारे अनौपचारिक रूपमा छलफल भइरहेको भए पनि टुङ्गो नलाग्दा समस्या भएको नेताहरूले बताएपछि सभापति देउवाले छलफल गर्न लाग्नुभएको हो । 

“साथीहरूसँगको छलफलका लागि सभापतिज्यूले बुढानीलकण्ठमा बिहान ९ः०० बजे बैठक बोलाउनुभएको छ”सह महामन्त्री प्रकाश शरण महतले भन्नुभयो।

सभापतिले बैठकमा आकाङ्क्षीहरूको कुरा सुन्ने र जितिने गरी टिम बनाउन खोज्ने देउवा निकटका एक नेताले बताउनुभयो । आफ्नो पक्षमा उपसभापति, महामन्त्री, सह महामन्त्रीका आकाङ्क्षी धेरै देखिएका कारण सभापति देउवालाई टिम व्यवस्थापन गर्न त्यति सहज भने देखिएको छैन । पहिला पदाधिकारीको टुङ्गो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारी देउवाको छ ।

काँग्रेसको १४औँ महाधिवेशन २४ मङ्सिरमा उद्घाटन भएर २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्य तालिका छ ।  देउवालाई बलियो साथ दिनुभएका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उठ्ने घोषणा गर्दै कार्यालय सञ्चालन गरिरहनुभएको छ । 

संस्थापन इतरले पनि सभापतिमा साझा उम्मेदवार चयन आजसम्ममा टुङ्ग्याउने तयारी गरेको छ ।  मङ्गलवार दिनभर चाक्सीबारीस्थित नेता प्रकाशमान सिंह निवासमा बसेको बैठकले साझा उम्मेदवार चयन गर्न नसके पनि सहमतिको नजिक पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो। 

उहाँकाअनुसार आज सम्ममा सभापतिको साझा उम्मेदवार चयन गरिनेछ । सभापतिमा निर्णयमा पुगेपछि संस्थापन इतरले पदाधिकारी र केन्द्रीय सदस्यहरू विषयमा छलफल गर्ने तयारी गरेको छ । 

काँग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह महामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट छानिने व्यवस्था रहेको छ । 

यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस /आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने काँग्रेस विधानमा व्यवस्था गरिएको छ । 

त्यस्तै,निर्वाचित बाहेक ३३ जनालाई सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : २८ बजे