झ्याप्लेखोलाबाट २५ शव निकालियो

कायममुकाय प्रधानन्यायाधीश कसलाई दिइएको छ भन्ने प्रश्न उठेपछि बुधबारको इजलास प्रभावित

काठमाडौं । सर्वोच्च अदालतमा कायममुकाय प्रधानन्यायाधीश कसलाई दिइएको छ भन्ने प्रश्न उठेपछि बुधबारको इजलास प्रभावित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोरोना सङ्क्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना हुनुभएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशको काम गर्न नसकेको अवस्थामा कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै प्रश्न उठाउनुभएपछि आजको इजलास प्रभावित भएको हो ।

कानुन व्यवसायीहरुको कायममुकायको जिम्मेवारीबारे प्रश्न उठेपछि न्यायाधीशहरु छलफलमा बस्नुभएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयो । बुधबार न्यायाधीशरुले केही मुद्दामा मात्र सुनुवाइ गरेर आन्तरिक छलफलमा जुट्नु भएको हो ।

संविधानको धारा १२९ को (६)मा प्रधानन्यायाधीश कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्चको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भएर काम गर्ने व्यवस्था छ ।

बुधबार सर्वोच्चमा न्यायाधीशहरुलाई गोला प्रथाद्वारा मुद्दाको पेशी तोकिएको छ । नेपालमा न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रथाद्वारा मुद्दाको पेशी तोकिएको हो । 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  २ : ३६ बजे