चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठक मङ्गलवार साँझ चितवनको सौराहामा सम्पन्न भएको छ ।
बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ ।
बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो ।
पार्टीलाई अझ थप सङ्गठित बनाइ अगाडि बढ्ने उहाँको भनाइ थियो । ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यही मङ्सिर २५ र २६ गते केन्द्रीय कार्य समितिको बैठक आह्वान गर्नुभएको छ ।
यही मङ्सिर १० गते नारायणगढमा उद्घाटन भएको नेकपा एमालेको १०औँ महाधिवेशनले नयाँ कार्य समिति चयन गर्दै मङ्गलवार सम्पन्न भएको हो । केन्द्रीय समिति ३०१ सदस्सीय रहेको छ ।
प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार ७ : २७ बजे
प्रतिक्रिया