झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

एमाले केन्द्रीय पदाधिकारी र सदस्यको सङ्ख्या थप हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । 

सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । 

सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ ।

दुई सय पच्चिस सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ भने बैठकले ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णय समेत गरेको छ । 

पैँतालिस सदस्यीय स्थायी समिति यथावत् रहेनछ । एमालेको आयोग २५ सदस्यीय हुने भएको छ । 

त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार पदाधिकारीको सङ्ख्या थप गरिएकामा वरिष्ठसहित उपाध्यक्ष सात  र उपमहासचिव तीन जना रहनेछन् । कूल पदाधिकारी सङ्ख्या १९ पुगेको छ ।

यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ । पदाधिकारी मध्येबाट पाँच जनाको सचिवालय बनाउने व्यवस्था थियो । 

बैठकको निर्णयअनुसार ३०१ सदस्यीय सल्लाहकार परिषद् हुनेछ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेको प्रस्तावलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पारित गरेको छ । 

केन्द्रीय समितिको  निर्णयअनुसार आजदेखि सुरु हुने महाधिवेशनको बन्द सत्रमा विधान संशोधन प्रस्ताव पेस गरिने पार्टीका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : ४८ बजे