झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

एमाले महाधिवेशन : उद्घाटन सत्रमा जनलहर उर्लिँदै

​​​​​​​​​​​​​​चितवन । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा जनलहर उर्लिने क्रम सुरु भएको छ । 

आज दिउँसो उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरू आउने क्रम सुरु भएको छ । 

आज बिहानैदेखि चितवनमा एमाले महाधिवेशनका लागि जनलहर सुरु भएको नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावलले बताउनुभयो । 

उहाँले महाधिवेशन उद्घाटनमा सहभागी हुनका लागि पूर्व तथा पश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधि तथा नागरिकहरूको बाक्लो उपस्थिति रहेको बताउनुभयो । चितवनबाट बाजागाजासहित जनसहभागिता हुने तयारी भइरहेको जिल्ला अध्यक्ष रावलको भनाइ छ । 

चितवनका सात वटै स्थानीय तहका ९८ वटा वडा, दुई वटा शाखा कमिटी तथा भातृ सङ्गठनहरूबाट एक लाख मानिस उतार्ने गरी तयारी भएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष रावलले महाधिवेशन उद्घाटन हुनु पूर्व चितवन तर्फको नदी किनारमा मानिसहरूको व्यापक सहभागिता हुन सुरु भइसकेको भन्दै सहभागीहरूलाई संयमित हुनका लागि आग्रह गर्नुभएको छ । 

उहाँले जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ४५  भन्दा  बढी स्थानमा स्वागत द्वार निर्माण गरिएको भन्दै देशभरिबाट पाँच लाख मानिसहरू नदी किनारमा उतार्ने बताउनुभयो । 

महाधिवेशन उद्घाटनका लागि एमालेका नेताहरू चितवन आइसक्नुभएको छ ।  आज दिउँसो नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भोलि शनिबार  र पर्सि  आइतबार सौराहामा हुनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : ०७ बजे