झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

​​​​​​​ लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबै सहयोग आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभएको छ । 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उहाँले अभियानलाई प्रभावकारी रूपले मनाउन सङ्घ, प्रदेश र स्थानीय तहलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष नेपालमा पनि ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको छ । 

देशव्यापी रूपमा लैङ्गिक हिंसाविरुद्धको अभियानमा अग्रसर भई हिंसा न्यूनीकरणमा योगदान पुर्‍याउने राजनीतिकर्मी, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय सरकार तथा गैरसरकारी सङ्घ संस्थालगायत सरोकारवाला सम्पूर्ण निकायको समन्वयमा सुरक्षित तरिकाले विभिन्न कार्यक्रम आआफ्नो स्थानबाट अभियानका रूपमा सञ्चालन गरिने उहाँले बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले यस अभियानले हामी सबैलाई कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासका कारण समाजमा देखिने लैङ्गिक हिंसाको पूर्ण रूपमा अन्त्य गर्न थप ऊर्जा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ । 

उहाँले अभियानमा मुलुकभर विभिन्न तह र निकायबाट सञ्चालन हुने क्रियाकलापले लैङ्गिक हिंसारहित सभ्य र समतामूलक समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिनुभएको छ ।  

लैङ्गिक हिंसाको अन्त्य गर्न, हिंसापीडित तथा प्रभावितको मानवअधिकारको संरक्षण र सम्वद्र्धनका लागि संवेदनशील हुनुका साथै लैङ्गिक हिंसा अन्त्य गर्ने सरकारको यस अभियानमा सबैको प्रतिबद्धता र ऐक्यबद्धताका निम्ति प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको छ । 

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ७ : ४५ बजे