झ्याप्लेखोलाबाट २५ शव निकालियो

न्यायाधीशको इमेलले सेटिङ पुष्टि गर्‍यो, सत्य भण्डाफोर भयो : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीशहरुको तमासाले अदालतमा सेटिङ पुष्टि भएको तर्क गर्नुभएको छ । एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतमा सेटिङ गरेर परमादेश आएको कुरा न्यायाधीशहरु आफैले भण्डाफोर गरेको बताउनुभएको छ ।

'जालझेल, सेटिङ, तिकडम गरेर, अदालत मिलाएर, मिलाएको रहेछ भन्ने त एक पछि अर्को न्यायाधीशहरु आफैं भन्न थाले । बकपत्र सुरु भयो । अमेरिकाबाट इमेल पठाए । पढ्दा पढ्दै, पढिनसक्दै चुपचुप, बन्द गर, बन्द गर भनेर तमासा गरेका छन् । बन्द गर, बन्द गर । रोक, रोक,' उहाँले भन्नुभयो , 'न्यायाधीशको इमेल के के न होला भनेर पढ्दा पढ्दै छोप्नुपर्‍यो । बन्द गर, बन्द गर । रोक, रोक । यो सत्य बाहिर जाँदा त के के पो निस्किने हो, भण्डाफोर भयो । आधामै रोकायो । चौथाईमै रोकायो । के हालत छ ?'

प्रतिक्रियावादीहरुले यस्ता खालका चाहिने नचाहिने क्रियाकलाप गर्ने उहाँको भनाइ छ । 'यिनीहरुले जनताको शक्तिलाई लल्कार्ने कुरा गर्छन् । अमेरिकाबाट लेखिएको इमेल के भन्छ, एकदम खतरनाक शक्ति अगाडि बढेका हुनाले सरकारबाट खसाल्नै पर्छ । संवैधानिक ढंगले जान सकिएन । त्यसकारण असंवैधानिक ढंगले जानुपर्‍यो,' उहाँले भन्नुभयो ।  

एमालेलाई सरकारबाट ढाल्न कुनै संवैधानिक बाटोबाट सम्भव नभएको, एमाले फुटाउन संवैधानिक बाटो नभएकाले जालझेल गरिएको उहाँको आरोप थियो । '४० लाई २० प्रतिशत झारियो । र लाई वा मा झारेर, संसद बन्द गरेर, हामीले निष्काशन गरेका, कारवाही गरेकालाई कायम राखेर, बलजफ्ती, संविधानको धज्जी उडाएर, मर्यादित संस्थाहरुको हुर्मत लिएर एमालेलाई परमादेशबाट हटाइयो,' उहाँले भन्नुभयो , 'किनभने कुनै वैधानिक र सहि बाटोबाट एमालेलाई सकिँदै सकिँदैन । त्यसकारण गलत बाटोबाट परमादेशबाट हटाइयो । एमालेसँग अगाडिबाट लड्ने हिम्मत छैन । त्यसकारण पछाडिबाट झुक्याएर परमादेशबाट हटाइयो । परमादेश भनेको त झुक्याएर असंवैधानिक ढंगबाट पछाडिबाट हान्ने रहेछ ।'

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : १० बजे