झ्याप्लेखोलाबाट २५ शव निकालियो

२० सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा बेलायत जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औँ सम्मेलन (कोप–२६)मा भाग लिन आज बेलायत जाँदै हुनुहुन्छ ।  

स्कटल्यान्डको ग्लास्गोमा १२ देखि २६ कात्तिकसम्म हुने कोपमा सहभागी हुन उहाँ २० सदस्यीय टोलीसहित बेलायत प्रस्थान गर्न लाग्नुभएको हो । 

कोप–२६ मा विश्वका सरकार प्रमुखको सहभागिता रहनेछ । 

प्रधानमन्त्री देउवा आज बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । पाँचौ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।

टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव प्रेमनारायण कँडेल,अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे,परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी फोरमले आयोजना गरेको स्वागत कार्यक्रममा भाग लिने कार्यक्रम छ ।  

देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटनमा भाग  लिनुहुनेछ । नोभेम्बर १ को साँझ प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस् जोन्सनले विश्वका राष्ट्र र सरकार प्रमुखहरूका लागि आयोजना गरेका रिसेप्सनमा सहभागी हुनुहुनेछ । 

प्रधानमन्त्री देउवा १७ कात्तिकमा नेपाल फर्कनुहुनेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : २२ बजे