झ्याप्लेखोलाबाट २५ शव निकालियो

पोखराका व्यस्त चोकमा ‘हाइमास्ट लाइट’ जडान हुँदै

कास्की । भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त ‘हाइमास्ट लाइट’ जडान गरिने भएको छ ।

महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पर्यटकीय सहर  पोखरालाई उज्यालो सहरका रुपममा विकास गर्न बत्ती जडान गर्न लागिएको हो । 

 ‘हाइमास्ट लाइट’ले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै रातिको समयमा यात्रा गर्ने सवारी चालक तथा पैदल यात्रीलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ । 

स्मार्ट सडक बत्ती र ‘हाइमास्ट लाइट’ जडान तथा विस्तार गर्न सहमति भएर काम अगाडि बढाइएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरपालिकाले नगरभित्रको ८० किमी क्षेत्रभित्र सडक बत्ती जडान र पोखराका व्यस्त ३० वटा चोकमा ‘हाइमास्ट लाइट’ जडान गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपीआर)तयार गरेको थियो ।

महानगर र विद्युत् प्राधिकरणबीच ‘हाइमास्ट लाइट’ जडानका लागि सहमति भएपछि प्राधिकरणको तर्फबाट रु १२ करोड ७५ लाख ८९ हजार बजेट स्वीकृत भएर बोलपत्र आह्वानलगायतका काम अघि बढेको थियो । 

प्रवक्ता नेपालीले भन्नुभयो,“प्राधिकरणसँगको सहकार्यमा पोखरा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती राख्नका लागि कार्य अगाडि बढेको छ । सम्झौता अनुसार सो योजनाको लागतमा महानगरपालिका र प्राधिकरणको बराबर साझेदारी रहनेछ ।” 

महानगरपालिकाले साझेदारी गर्ने रकममध्ये रु एक करोड ५० लाख प्राधिकरणको खातामा जम्मा गरिसकेको छ ।  

दशैँलगत्तै निर्माण कम्पनीलाई काम थालनी गर्न विद्युत् प्राधिकरणले पत्राचार गरिसकेको छ ।

यसैगरी पोखरा महानगरपालिकाभित्रको ढल व्यवस्थापन गर्न गुरुयोजना तयार पार्न पोखरा महानगरपालिका, खानेपानी मन्त्रालय, खानेपानी विभाग र जापान अन्तर्राष्ट्रिय समन्वय संस्था (जाइका) बीच सहमति भएको छ । 

सहमति अनुसार दुई वर्षमा सो आयोजनाले पोखराको सम्पूर्ण ढल व्यवस्थापनको गुरुयोजना तयार पार्नेछ । 

उक्त कार्यको लागि जापानले निजी कम्पनी छनोट गरिसकेको र कात्तिक पहिलो हप्ताबाट विज्ञको टोली पोखरामा खटिई आउने महानगरले जनाएको छ ।रासस 

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १२ : ५० बजे