झ्याप्लेखोलाबाट २५ शव निकालियो

कांग्रेस सहमहामन्त्री महत नेतृत्वको टोली भारत प्रस्थान

काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।

भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन्। पाँच दिनको भ्रमणका क्रममा उनीहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका सहमहामन्त्री डा महतको आमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । त्यस भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सहमहामन्त्री डा महतसहित नेपाली कांग्रेस र अन्य राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए ।

त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा डा महत नेतृत्वको टोली आज भारत गएको हो । दिल्ली प्रस्थान गर्नुअघि डा महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताए ।

 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  १२ : ४१ बजे