झ्याप्लेखोलाबाट २५ शव निकालियो

पानी नपर्दै मेची राजमार्गमा पहिरो

इलाम । शुक्रबार दिउँसो र राती इलाम सदरमुकाम क्षेत्रमा वर्षा भएन । दुई सातादेखिनै इलाममावर्षा कम भएको छ । खासै वर्षा नभए पनि मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-८ मा राजमार्ग तलबाट भत्किएको छ ।

 शनिबार राजमार्ग भत्किएपछि अवरुद्ध बनेको थियो । राजमार्ग भएर गुड्ने सवारी साधन बजार क्षेत्रको बाटो भएर गन्तव्यतर्फ पठाइएको छ । 

भत्किएको मेची राजमार्ग भन्दा माथिबाट धोविधारा, नारायणस्थान हुँदै इलाम बजार छिर्ने बाटो छ । तर, त्यो बाटो पनि पहिरोको जोखिममा छ । 

नाराणस्थान खोल्सिले सडको तल्लो भाग कटान गरिरहेको छ । त्यसकै तलपर्ने मेची राजमार्ग भत्किएको हो । राजमार्ग हुँदै गुड्ने सवारी साधन नारायणस्थान हुँदै गुड्न थालेपछि सो सडकसमेत भत्किने जोखिम बढेको छ । 

सडकको तल्लोपट्टी अग्लो भीर रहेकाले तत्काल डाइभर्सन बनाउन सम्भव नभएको सडक डिभिजन कार्यालय इलामका प्रमुख अविमन दास मुल्मीले बताए । ‘सडकमा ठूलो क्षति भएको हुँदा तत्काल मर्मत गरेर राजमार्ग सञ्चालन हुने सम्भावना छैन । जतिसक्दो चाँडो मर्मत गर्न तत्काल निर्णयगरी विभागमा पठाउँछौं’, मुल्मिले भने ।

राजमार्गको माथिको भाग पनि खोल्सिको पानीले कटान गरिरहेकाले त्यस क्षेत्रका दर्जनौं घर जोखिममा पारेका छन् । पहिरोका कारण नारायणस्थान मन्दिरछेउसम्म नै जोखिम बढेको छ ।

बजार पस्ने बाटो साँघुरो भएकाले बजारमा जाम हुन थालेको छ । यसअघि पनि बजार क्षेत्रमा बिहान र बेलुका मात्रै मालबाहेक सवारीलाई प्रवेश दिइन्थ्यो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ९ : १३ बजे