भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सम्झनामा कमला भासिन

नारीवादी आन्दोलनकी अभियन्ता कमला भासिनको शनिवार मृत्यु भएको छ । पितृसत्तात्मक विभेदकारी मूल्य र मान्यताविरुद्ध बोल्न सिकाउने भासिन संसारबाट बिदा भएपनि उहाँले विभेदकारी यो समाजमा युवतीहरूलाई ‘आजाद’ भएर बाँच्न दिएको प्रेरणा अजर अम्मर मात्र बन्ने छैन महिला आन्दोलनको क्षेत्रमा युग युगसम्म प्रेरणा बन्नेछ ।

समाजमा परिवर्तन चाहन्छौँ भने हामी आफैबाट सुरु गर्नु पर्छ । परिवर्तनका लागि आफू उदाहरण बन्नु पर्दछ भनेर सिकाउने भासिन महिला आन्दोलनका लागि जहिले नि प्रेरणाकी स्रोत हुनुहुन्छ । दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका लागि आवाज उठाइरहेकी नारीवादी सामाजिक अभियन्ता थिइन्– कमला भासिन ।

सन् १९५६ अप्रिल २४ तारिखका दिन हालको पाकिस्तानमा पर्ने तत्कालीन मन्दिबाहुद्दिन जिल्लामा जन्मिएकी भासिन आफूलाई मध्यरातको बच्चा भन्न रुचाउनुहुन्थ्यो । भारत–पाकिस्तान विभाजनपछि उहाँको जन्मभूमि पाकिस्तानमा पर्‍यो भने कर्मभूमि भारतमा । दक्षिण एसियाली मुलुकहरूमा सञ्जाल बनाएर काम गर्नुभएकी महिला अधिकारवादी संस्था ‘सङ्गत’की संस्थापक हुनुहुन्थ्यो । उहाँले अभियानमा लाग्नुअघि सन् १९७६ देखि २००१ सम्म संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनमा काम गर्नुभएको थियो । उहाँका ‘लाफिङ म्याटर्स’ ‘२००५’, ‘एक्स्प्लोरिङ मस्कुलिनिटी’ ‘२००४’, ‘बोर्डर्स एन्ड बाउन्ड्रिज : वुमन इन इन्डियाज् पार्टिसन’ ९१९९८० र ‘ह्वाट इज पेट्रियार्क’ र चर्चित कविता ‘क्युँ कि मैं लड्की हुँ मुझे पढ्ना हैं’ (१९६५) प्रकाशित छन् । उहाँका किताबहरू ३० भन्दा धेरै भाषाहरूमा अनूदित भएका छन् ।

उहाँका प्रत्येक शब्दमा नारीवाद झल्किकन्थ्यो । विगत ४५ वर्षदेखि महिला हिंसाविरुद्धको अभियानमा निरन्तर सक्रिय भासिन सन १९७५ देखि आन्दोलनमा होमिनुभएको थियो । उहाँले तत्कालीन नारीवादी आन्दोलनमा अहम् भूमिका निर्वाह गर्नुभएको थियो । भासिनले १९९० को दशकमा नारीवादी आन्दोलनमा महिलाहरूको शोषणका विरुद्ध आवाज उठाउनुभएको थियो । दलित महिला, समलिङ्गी महिलाको पक्षमा उनीहरूको हकहितको लागिसमेत भासिनले काम गर्नुभयो ।

भासिनले बङ्गलादेश तथा पाकिस्तानका महिलाहरूलाई समेत प्रेरित गरी स्वतन्त्रताका लागि लड्न सिकाइनुभएको थियो । भासिन महिला अधिकारकर्मी मात्र नभएर साहित्य क्षेत्रमा कलम चलाउने योद्धासमेत हुनुहुन्थ्यो । उहाँले जीवनका अन्तिम समयसम्मपनि सकारात्मक बोल्ने शैली, अन्तरक्रियाका साथ साहित्यिक भाषाद्वारा समाजमा आफ्ना कुराहरू बुझाउने प्रयत्न गरिनुभयो । ‘हाम्रो समाजमा एउटा बच्चा जन्मिदा छोरा कि छोरी भन्ने छ । यो छैन कि बच्चा सग्लो जन्मियो कि जन्मिएन स्वस्थ जन्मियो कि जन्मिएन त्यतातिर ध्यान कसैको छैन, सबैको आँखा यौनाङ्ग मै हुन्छ । हाम्रो समाजमा पितृ सत्ताले यसरी जरा गाडेर बसेको छ त्यसमा आवाज उठाउन धेरै मुस्किल छ ।’ महिलावादी नेता बिन्दा पाण्डेका अनुसार कमला भासिन् समाजमा चलिआएको यही लैङ्गिक विभेदको विद्रोह गर्ने र समाजलाई चेतना दिने लेखक र अभियन्ता हुनुहुन्थ्यो । कमला भासिन महिलाले बाहिरी उपार्जनको लागि पनि सहभागिता जनाउनुपर्ने अनि घरको काममा पनि त्यतिकै सहभागिता जनाउनुपर्ने हुँदा कामको दोहोरो भारीमा महिलाहरू परिरहेको भन्दै त्यसबाट समाज माथि उठ्नु पर्ने कुरामा सधैभरी जोड दिइरहनुहुन्थ्यो ।

दक्षिण एसियामा महिलावादको क्षेत्रमा कमला भासिन जस्तो उठेको व्यक्तित्व अरू कसैको नभएको पाण्डे बताउनुहुन्छ ।

कमला भासिनलाई सम्झँदै उहाँ भन्नुहुन्छ ‘दक्षिण एसियामा महिलावादको विषयमा कमला भासिन जत्तिको कोही पनि छैन, झैँ लाग्छ । कमला भासिनले गर्नुभएको एक महिने ट्रेंडिङ्ग सञ्चालन गर्दा २०० जति महिलाहरू उपस्थित हुनुहुन्थ्यो त्यहाँ उहाँले महिलावादको बिउँ रोप्नुभएको थियो । त्यसैले नेपालको महिला मुक्ति आन्दोलनले कमला भासिनलाई सम्झिरहने छ ।’ पाण्डे ‘कुनै समय आफ्नै पार्टी (एमाले)मा समेत कमला भासिनसँग महिलावादी तालिम लिएको भनेर ततकालिन उपाध्यक्ष विद्या भण्डारीलाई स्पष्टीकरणको चिठ्ठी काट्ने खालको तहमा पुगेको सम्झनुहुन्छ । पाण्डेको बुझाईमा कमला भासिनले दिनुभएको विचार विचार मात्र नभएर आन्दोलन भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘कमला भासिन विश्वस्तरीयरुपमा महिलावादी जुन विचार छ जुन आन्दोलन छ यो विचार यो आन्दोलन राजनैतिक विचार हो र यो पितृसत्ता विरुद्धको राजनीति हो ।’ कमला भासिन महिलावादलाई जबसम्म हामीले राजनीतिक हिसाबबाट स्वीकार गरिँदैन तबसम्म हामीले भन्दै गरेको लैङ्गिक समानता पुरा नहुने बताउनुहुन्छ । भासिनलाई संिझदै पाण्डे थप्नुहुन्छ, ‘पितृसत्ताका विरुद्धको राजनैतिक विचारधारा भनेको महिलावाद हो र हामीले कुरा गर्ने महिलावाद भनेका समाजवादी महिलावाद हो ,जसले महिलाको समानताको कुरा मात्र गर्छ ।

समाजमा जुन खालको विविधता छ वर्गीय विविधता, भौगोलिक विविधता, विभिन्न किसिमको विविधता छ त्यो विविधता अन्तर्गत जो किनारामा पारिएका छन् जसलाई पाखा लगाइएको छ, जुन लिङ्ग,वर्ग, समुदाय छन् । उनीहरूलाई मूलधारमा ल्याउन पितृसत्तात्मक अन्त्य हुनपर्छ ।’ प्रसिद्ध भारतीय महिला अधिकार अभियन्ता भासिनको योगदान चीरस्मरणी रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएको छ ।

भासिनको निधनमा श्रद्धाञ्जली दिँदै राष्ट्रपति भण्डारी लेख्नुहुन्छ, प्रसिद्ध भारतीय महिला अधिकार अभियन्ता‚ कवि एवं लेखक मेरो मित्र कमला भसिनको निधनको खबरबाट स्तब्ध भएको छु। विशेष गरी दक्षिण एसियामा महिलाविरुद्ध हुने विभेद र हिंसाविरुद्ध चेतना र जागरणका लागि उहाँको योगदान चिरस्मरणीय रहने छ।’ दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका लागि आवाज उठाउने महिला हुनुहुन्थ्यो ।

छोरीले किन पढ्नु पर्छ भन्ने विषयमा भासिनले लेखेको ‘क्युँ कि मैं लड्की हुँ मुझे पढ्ना हैं’ एक चर्चित कविता हो ।

पढ्ने कि मुझे मनाही हें सो पढ्ना हें

क्यूकी में लड्की हुँ मुझे पढ्ना हें

कुछ कर्ने कि मन में आई हें सो पढ्ना हें

मुझे  र्द र्द नहीं भटकाना हें सो पढ्ना हें

मुझे  अपने पाओं में चल्नआ हें सो पढ्ना हें

क्यू की में लड्की हु मुझे पढ्ना हें ।

महिलावाद पुरुष–महिलाबिचको युद्ध नभई पितृ सत्ताको सिद्धान्तविरुद्ध रहेको बताउने भासिनले भारत र पाकिस्तानबिचको सम्बन्ध पनि सुमधुर बनाउने प्रयास गर्नुभएको थियो । आफ्ना लेखहरू मार्फत महिलालाई सुन्दर, सुशील, सहनशील, कोमल, असल, चरित्रवान् बन्न बाध्य बनाएको पितृ सत्ताको विभेदकारी सामाजिक मूल्य मान्यताविरुद्ध बोल्न सिकाउने कमला भासिन पुस्तक, लेख र अन्तर्वार्तालाई माध्यम बनाउँदै आफ्ना भनाइमार्फत सधैँ महिलालाई प्रेरित गरिनुहुन्थ्यो । कमला भासिन हरेक छोरीका लागि ऊर्जा हुनुहुन्थ्यो । उहाँले महिलाको सोच र व्यवहारमा परिवर्तन गर्नुभन्दा पनि पुरुष स्वतः परिवर्तन हुने समय आएको बताउने गर्नुहुन्थ्यो । महिलालाई हिंसा गर्ने, नियन्त्रणमा राख्न खोज्ने, महिलालाई दायरामा राख्ने, अपमान, हत्या, हिंसा, बलात्कार गर्ने पुरुष नै भएकाले अब पुरुषले नारीवादी तरिकाले सोच्नुपर्ने भासिनको तर्क थियो ।

महिलाले खुलेर हाँस्न नहुने, पुरुषले खुलेर रुनु नहुने जस्ता गलत अवधारणा पितृ सत्ताले स्थापित गरेको बताउने भासिन पितृ सत्ताले महिलालाई कमजोर र पुरुषलाई बलवान हुनुपर्ने भ्रम पैदा गरिदिएको बताउनुहुन्थ्यो । नारीवाद पुरुषको नभएर पितृ सत्ताको विरोधी रहेको बताउँदै भासिन पितृ सत्ता मात्र नभएर जातिवाद, नस्लवाद तथा यौनिक र अल्पसङ्ख्यकमाथि हुने भेदभावको विरोध गर्ने विचार भएकी महिला हुनुहुन्थ्यो ।

समाजमा जबसम्म विभेद रहिरहन्छ, नारीवादको आन्दोलन चलिरहने उहाँको विचार थियो । भासिन दक्षिण एसियामा आफ्ना नारा, गीत र बेजोड तर्कका साथ उभिनुभएको थियो । ग्रामीण महिलादेखि महानगरीय संस्कृतिमा हुर्के बढेका महिलाहरूलाई एक सूत्रमा बाँध्दै भारतीय नारीवादी आन्दोलनलाई सङ्गठित स्वरूप दिनमा उहाँको भूमिका महत्त्वपूर्ण मानिन्छ । भासिनको ७५ वर्षको उमेरमा भारत दिल्लीमा शनिवार बिहान निधन भएको हो । महिलावादी अधिकारकर्मी भासिनको भौतिक शरीर नरहे पनि उहाँले गरेका योगदान र सङ्घर्षका कथा सदाबहार रहिरहनेछ ।

मेरी बच्ची मागे !

आजादी, नारीका नारा !

आजादी, मजदुरका नारा !

आजादी, जनताका नारा !

आजादी, आदिवासीका नारा !

आजादी, जंगो से लेंगे !

आजादी, दंगो से लेंगे !

आजादी, हिंसा से लेंगे !

आजादी, अपमान से लेंगे !

आजादी, हम लेके रहेंगे !

आजादी, फ्रम पेट्रिआर्की !

आजादी, फ्रम अल हाइरार्की !

आजादी, फ्रम एन्डलेस भ्वाइलेन्स् !

आजादी, फ्रम हेल्पलेस साइलेन्स् !

आजादी, फर वाकिङ फ्रिली !

आजादी, फर टकिङ फ्रिली !

आजादी, फर डान्सिङ म्याड्ली !

आजादी, फर सिंगिङ् लाउड्ली !

आजादी, फर सेल्फ एक्सप्रेसन् !

आजादी, फर सेलिब्रेसन !

आजादी, फर सेड लाउड्ली !

आजादी, आजादी ! आजादी ! आजादी !

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ५ : ३४ बजे