भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

दशैंको लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । 

गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र यातायात व्यवसायीहरूको असोज ७ गते बसेको बैठकले दशैंलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा टिकट काउन्टर थप
काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । 

सरकारले आजदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो । 

प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको जानकारी दिनुभयो । नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ । 

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले अग्रिम टिकट बुकिङको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । उहाँले सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिने बताउनुभयो । 

“म अग्रिम टिकट लिने यात्रुलाई टिकट लिएपछि आफू जाने गन्तव्यस्थल, बस नम्बर, मिति र समय पहिचान गरेर बस्न आग्रह गर्दछु,” महासचिव सिटौलाले भन्नुभयो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । 

उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्य स्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।
 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : २२ बजे