वडाध्यक्षलाई मन्त्रीले कुटेको भन्दै पौडेल समूह धर्नामा

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई प्रदेश नम्बर–२ का मन्त्रीले कुटपिट गरेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज सानेपामा धर्ना दिएको छ । पार्टीमा मनलाग्दी क्रियाशील सदस्यता बाँडेर पार्टी कब्जाको प्रयास गर्नेका विषयमा बोल्दा वडाध्यक्षमाथि हातपात गरिएको भन्दै पौडेल पक्षले विरोध गरेको हो ।

प्रदेश–२ का महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह र वडाध्यक्ष महतोबीच गएको मंगलबार पार्टी केन्द्रीय कार्यालयमै विवाद हुँदा हात हालाहालको अवस्था बनेको थियो । त्यसको भिडियो सार्वजनिक भएसँगै विवाद थप बढ्दै गएको छ ।

मन्त्रीको कदमको विरोध गर्दै नेता अमरेशकुमार सिंहले धाकधम्की र आक्रमण भए पनि आफूहरुले पार्टी कब्जा गर्न नदिने बताए । “पार्टी कब्जा गर्न दिँदैनौँ, नेपाली कांग्रेस दारूवाला, भट्टीवाला, ठेकेदारले बनाएको पार्टी हैन,” सिंहले भने, “मन्त्रीले जुन हातपात गरे, यो स्वीकार्य हुँदैन । पार्टी कार्यकर्ता कुट्नेलाई कारबाही हुनुपर्छ, म सभापतिसँग जोडदार माग गर्छु ।”  पौडेल समूहले नेता अमरेशकुमार सिंहको नेतृत्वमा  पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। उक्त धर्ना कार्यक्रममा अहिलेसम्म नेताहरु प्रकाशमान सिंह र डा. शेखर कोइराला पुगेका छन्। धर्ना कार्यक्रममा वरिष्ठ नेता पौडेल पनि पुग्ने कार्यक्रम छ। 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  २ : २२ बजे