पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु 

रूपन्देही । गुल्मीमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

मङ्गलबार रातिदेखि परेको पानीका कारण पहिरो आई घर पुरिँदा एउटै कोठामा सुतिरहेका उनीहरुको मृत्यु भएको हो ।

सोही घरको अर्को कोठामा सुतेका तिलक, उनकी श्रीमती र एक छोरी सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको स्थानीयको भनाइ छ ।

राती करिब १२:००  बजेतिर घर माथिबाट खसेको पहिरोले घरको एउटा कोठा पुरेको थियो । 

पुरिएकाको शव स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् । शवलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण तानसेन -तम्घास सडक खण्ड अवरुद्ध भएको छ ।

तस्बिर : गगंशिला खड्का 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ७ : ४३ बजे