अध्यक्ष ओलीको कसैसँग चर्काचर्की भएको छैन : बडाल

काठमाडौं । नेकपा एमालेका नेता केशव बडालले स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी समिति सदस्यहरूबीच कुनै पनि आरोप, प्रत्यारोप, चर्काचर्की नभएको दाबी गर्नुभएको छ । केहि मिडियाले गलत ढंगबाट एमालेलाई बदनाम गर्न गलत सूचना सम्प्रेषण गरेको उहाँको आरोप थियो ।

पत्रकारसँग कुराकानि गर्दै नेता बडालले भन्नुभयो, “पार्टीका नेता घनश्याम भुसाल र भीम रावलले असहमति जनाउनु भएको छैन बाहिर अध्यक्षसँग सवाल जवाफ भएको भन्ने हल्ला छ त्यो गलत हो। उहाँले थप्नुभयो, ‘घनश्याम भुसालले लिखित विचार राख्नुभएको हो । भीम रावलले पनि त्यसरी नै सुझाव राख्नुभएको हो । विगतमा भए गरेका काम कारबाहीबारे समीक्षा गर्ने सवालमा त्यस्ता विचार व्यक्त हुनु स्वाभाविक हो ।’

नेकपा एमालेलाई २०७५ जेठ २ मा जस्ताको तस्तै फर्काउने कुरा सम्भव नभएको पनि उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘चार वर्षमा त बच्चा पनि स्कुल जाने भइसक्छ । माओवादी केन्द्रका नेताहरुलाई सामेल गराउने कुरामा हामीले फराकिलो छाती लिएर सोच्नैपर्छ । यस विषयमा आरोप, प्रत्यारोप, विवाद, चर्काचर्की गर्नु आवश्यक छैन ।’
नेता बडालले अध्यक्षको प्रतिवेदनमा कार्यदलमा रहेका रघुजी पन्तसहित पाँच नेताहरुका कारण सरकार ढलेको भन्ने अंश नरहेको पनि दाबी गर्नुभयो । उहाँ भन्नुभयो, ‘त्यस्ता कुरा हल्लामात्र हुन् । एक डेढ वर्ष पुरानो कुरालाई लिएर कसैले कसैलाई बिझाउने कुरागर्नुभएको छैन ।’

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ०४ बजे