संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताउनुभएको छ ।

सातौँ संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गर्नुभएको छ । 

मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गर्नुभएको छ । साथै उहाँले प्राकृतिक विपद् र कोभिड–१९ को महामारीबाट अकालमा ज्यान गुमाउन पुगेका दिदीबहिनी तथा दाजुभाईलगायत सबैमा श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट विसं २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

“कांग्रेसको नेतृत्वमा सबै दल तथा नागरिकको सहयोगमा मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन भइ संविधान कार्यान्वयन गरेको सर्वविदितै छ । यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ”, शुभकामना सन्देशमा उल्लेख छ ।
 

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ८ : ०० बजे