एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य

जलेश्वर । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफूले विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । 

महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गर्नुभयो ।  

वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरूको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताउनुभयो । 

एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उहाँको भनाइ थियो ।

नेता नेपालको नेकपा(एमाले)लाई मजबुत बनाउनमा महत्त्वपूर्ण योगदान दिएको र उहाँले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताउनुभयो । उहाँले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दै आएको बताउनुभयो । एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान छाड्नुपर्नेमा शाक्यले जोड दिनुभयो । 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : ११ बजे