भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

ओलीको प्रश्न- देशको एउटा नेताले सरकारलाई असहयोग गर भनेर कर्मचारीलाई निर्देशन दिन मिल्छ ?

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले निजामती कर्मचारीले कुनै पनि सरकारलाई असहयोग गर्न नहुने बताउनु भएको छ  ।

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले जुन पार्टीको सरकार आए पनि सहयोग गर्न अपिल गर्नुभयो । तर, आफू प्रधानमन्त्री हुँदा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारलाई असहयोग गर्न आह्वान गरेको भन्दै उहाँले गुनासो गर्नुभयो।

‘म प्रधानमन्त्री छँदै, नेपालका दोस्रो पार्टीले कर्मचारीहरू भेला गरे। तर त्यहाँ एकपछि अर्को नेताको निर्देशन के रह्यो भने सरकारलाई असहयोग गर भन्दै निर्देशन दिइयो। म छक्क परें, एउटा देशको नेताले सरकारलाई असहयोग गर भनेर कसरी कर्मचारीलाई निर्देशन दिन्छ ? मलाई अचम्म लाग्यो। मलाई आश्चर्य लाग्यो। तपाईंहरू त्यसो नगर्नुहोस्, जसको सरकार आए पनि नियम कानुनको परिधिभित्र रहेर काम गर्नु,’ ओलीले भन्नुभयो ।

उहाँले आफू पनि भ्रष्टाचार नगर्न र अरुलाई पनि भ्रष्टाचार गर्न नदिनसमेत दाबी गर्नुभयो । आफूले दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिएकै दिन आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने निर्णयले भ्रष्टाचारीको मतमा ढ्यांग्रो ठोकेको बताउनु भयो ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ४ : २१ बजे