भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

दमौली । नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुरु भएको छ । 

नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा हुन लागेको हो । बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार बन्दीपुर आइपुग्नुभएको थियो । 

बैठक यही असोज ५ गतेसम्म सञ्चालन हुने नेकपाका जिल्ला सचिव एटमले जानकारी दिनुभयो । बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैँले मेस चलाउने उहाँले बताउनुभयो । 

बैठक हल होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएको बताइएको छ ।

बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । सो होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना बसेका छन् । 

बैठक कक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको एटमले जानकारी दिनुभयो । 

बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलो पटक केन्द्रीय समिति बैठक गर्न लागेको हो ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ९ : १९ बजे