आजको एमाले २ जेठमात्र होइन एकीकृत, एकता प्रक्रिया सहितको एमाले हो : महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने बताउनुभएको छ । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै सुदृढ संगठन बनाउन १० बुँदे कार्यान्वयन हुने प्रष्ट पार्नुभएको हो ।

'संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले भीड होइन शक्ति खोजेका हौं ।  पार्टीभित्रको सुदृढ एकतालाई ध्यान दिन जरुरी छ । पार्टीको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । गुटबन्दीमा लागेर पार्टी कमजोर बनाउने, अनास्था फैलाउने, गुटगत गतिविधि स्वीकार्य छैन । एकता मजबुत बनाउन १० बुँदे सहमति गरिएको हो । प्रतिबद्धताबाट नेतृत्व किञ्चित पछि हट्दैन । सुझाव कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता हो,' उहाँले भन्नुभयो ।

पोखरेलले जेठ २ लाई दुई हिसाबले बुझ्न आग्रह गर्नुभयो । 'यसलाई पोलिटिकल सेन्समा बुझ्न जरुरी छ । कानुनी रुपमा पनि जरुरी छ । आजको एमाले २ जेठमात्र होइन एकीकृत, एकता प्रक्रियासहितको एमाले हो,' उहाँले भन्नुभयो , '२ जेठमात्र भन्ने हो भन्ने विकसित, परिवर्तित, एकता प्रक्रियासहितको एमाले हुँदैन । त्यसैले आजको एमाले एकता प्रक्रियासहहितको एमाले हो । यो बुझ्न जरुरी छ ।'  

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  २ : ५५ बजे