पिलो निचोर्दैमा शरीरको तौल घट्दैन : अध्यक्ष ओली

बुटवल – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अघिल्लो सरकारको पालामा भएका विकास निर्माणलाई सिध्याउन खोजेको आरोप लगाउनु भएको  छ ।

सरकार आफूले पनि केही गर्न नसकेको र अरूले गरेका कामलाई पनि देख्न नसकेर ध्वस्त पार्न उद्यत रहेको उहाँको आरोप छ । उहाँले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बुख्याँचाको संज्ञा दिनुभएको छ।

पार्टीको रूपन्देही जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो सरकारका पालामा प्रत्येक पालिका जोड्ने २०० भन्दा बढी रणनीतिक महत्त्वका सडक एकैसाथ शिलान्यास गर्‍यौँ तर अहिलेको सरकारले भत्काइदियो, भूमिहीन आयोग खारेज गर्‍यो । यो सरकार काम गर्नका लागि होइन, भत्काउनका लागि बनेको हो ।’

आफू नेतृत्वको अघिल्लो सरकारले सडक, अस्पताल जस्ता पूर्वाधार अगाडि बढाएकाले त्यो सहन नसकेर प्रतिक्रियावादीहरूले सरकार ढालेको ओलीको आरोप छ । अब १४ महिना पार्टी प्रतिपक्षमा रहेर जनताका बीचमा जाने र अर्को निर्वाचनबाट पुनः सत्तामा फर्किने भन्दै ओलीले कार्यकर्तालाई आश्वस्त पार्नु भएको थियो । 

उहाँले पार्टीबाट अलग्गिएको माधव नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादीलाई पिलोको संज्ञा दिनुभएको छ । 'पिलो निचोर्दैमा शरीरको वजन घट्दैन । माधव नेपाललगायत केही व्यक्तिले पार्टी छाड्दैमा एमालेलाई घाटा हुँदैन', उहाँले भन्नुभयो ।

माधव नेपालले एमालेमा रहँदा जनविरोधी र अपराधपूर्ण काम गरेको आरोप लगाउँदै ओलीले उनलाई कमरेड भन्न नसकिने बताउनु भयो । 'पार्टीलाई ध्वस्त बनाउन खोज्नेलाई कमरेड भन्न सकिँदैन । उनी जनविरोधी हुन् । पार्टी नेतृत्वको सरकार रहँदा उनले समर्थनमा एक शब्द पनि बोलेनन्', ओलीले भन्नुभयो ।

भेलालाई सम्बोधन गर्दै एमालेका उपमहासचिव विष्णु पौडेलले आउँदो चुनावमा माधव नेपालको पार्टी २०५४ सालमा विभाजन भएको मालेको जस्तै हुने दाबी गर्नुभयो । 'माधव नेपालको पार्टीले चुनावमा एक सिट पनि जित्दैन, जमानत जोगाउन पनि मुस्किल पर्नेछ, त्यो पार्टी स्वार्थी तत्त्वहरूको झुण्ड मात्र हो', उहाँले भन्नुभयो ।

उहाँले कांग्रेसको नेतृत्वमा क्रान्तिकारी विचार र अग्रगमन देख्नेहरूले केवल स्वार्थको राजनीति गरिरहेको भन्दै विकासको नेतृत्व एमालेबाट मात्र संभव रहेको दाबी गर्नुभयो । पौडेलले स्वार्थका लागि पार्टी कब्जा गर्न खोज्दा नसकेपछि कांग्रेसको शरणमा पुगेर सरकार ढालिएको आरोप लगाउनुभयो ।

उहाँले दुई महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारले अरू केही केही गर्न नसक्ने जिकिर गर्नुभयो । 

पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालले एमाले जिम्मेवारपूर्ण भूमिकामा रहनुपर्ने भन्दै त्यसो भएमा एमालेलाई हराउने शक्ति कोही नजन्मिने बताउनुभयो । पार्टीमा आएको विभाजनपछि एमाले घाइते अवस्थामा रहेको भन्दै भुसालले चुनावपछि पुरानै अवस्थामा फर्काइने बताउनुभयो ।

भेलालाई पार्टी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, रूपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी, सचिव जगेश्वरदेवी चौधरीलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ९ : ४७ बजे