आधुनिक विकसित नेपाल कम्युनिष्ट पार्टीले मात्र बनाउँछ भन्ने प्रष्ट भयो : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कम्युनिष्ट पार्टीले मात्रै सक्ने दाबी गर्नुभएको छ ।

बुटवलमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, 'सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा कम्युनिष्ट पार्टीले मात्र पूरा गर्छ । कम्युनिष्ट पार्टीबाट देशलाई तीव्र विकासको बाटोमा अघि बढाउन, सुशासन र विकासको माध्यमबाट अघि बढाउन, समृद्धि हासिल गराउन सम्भव छ ।'

ओलीले कम्युनिष्ट पार्टीले मात्र विकसित नेपालमा रुपान्तरित गर्न सक्छ भन्ने कुरा पुष्टि भएको जिकिर गर्नुभयो । 'गरिबी, पछौटेपन, अशिक्षा र बेरोजगारीजस्ता कुरा हटाउन, देशलाई पूर्वाधारहरुको विकास गर्दै आधुनिक विकसित नेपालमा रुपान्तरित गर्न कम्युनिष्ट पार्टीले मात्र गर्न भन्ने कुरा केही वर्षयता झन् प्रष्ट देखियो,' उहाँले भन्नुभयो, 'यो देशको सार्वभौमसत्ता, स्वाधीनता, गर्वका साथ कुनै पनि देशसँग बराबरी सम्बन्ध राख्ने, राष्ट्रिय हितको संरक्षण गर्न, गुमेको भूभाग फिर्ता लिन कम्युनिष्टबाहेक कसैले सक्दैन भन्ने देखिएको छ ।'

एमालेले बाटो, पुल बनाउनेमात्र होइन सुरुङ केबलकारको युगमा नेपाललाई प्रवेश गराएको ओलीको दाबी थियो । 'दुनियाँका पर्यटकहरु भैरहवामा झर्छन्, लुम्बिनी हेर्छन् । पर्यटक खुसी हुने खालका होटलहरु बनाउनुस्,' उहाँले भन्नुभयो ।

कार्यकर्ता भेलामा ओलीले एमाले पार्टी कब्जा गर्न, ध्वस्त पार्न, त्यो पनि नसके प्रतिक्रियावादीको पाउमा चढाउन माधव नेपालहरुले खोजेको भन्दै नेता कार्यकर्तालाई तपाईहरुले बचाउनुभयो सलाम छ भन्नुभएको थियो।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : १२ बजे