स्वास्थ्यमन्त्री छैन, डाइरेक्टर हटाए, नजान्नेलाई जागिर खुवाए : अध्यक्ष ओली

बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ल्याइदिएको कोभिड १९ विरुद्धको खोप वितरण गर्न नसकेको आरोप लगाउनुभएको छ ।

कोभिड महामारीका बेला स्वास्थ्य मन्त्रालयमा विभागीय मन्त्री नियुक्त गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले खोपबारे बुझेको महानिर्देशक हटाएर केही नजानेको मान्छे राखेको भन्दै आक्रोश पोख्नु भएको थियो ।

'खोप उत्पादक नभए पनि भारतपछि साउथ एसियामा हामीले खोप सुरु गर्‍यौं । करोडौं खोप ल्यायौं । अहिले यो सरकारलाई त्यो खोप बाँड्न हम्मेहम्मे परेको छ,' उहाँले भन्नुभयो, 'मन्त्री पनि छैन, डाइरेक्टर पनि हटाए । केही पनि नजान्ने मान्छे ल्याएर जागिर खुवाएर राख्या छ ।'

आफूले ल्याएका विकास निर्माणका योजनाहरु काम गर्न नसकेर सरकारले धमाधम रद्ध गरिरहेको ओलीको भनाइ थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : ०० बजे