कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन थप प्रयास आवश्यक : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको बताउनुभएको छ । सन्ताउन्नौँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका  सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकहरुमा शुभकामना व्यक्त गर्दै उहाँले कोभिड १९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत श्ययाको व्यवस्था गरिएको बताउनुभयो।

कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । 

संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको तथा बालबालिकासम्बन्धी ऐन कानूनहरूको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको देउवाले  उल्लेख गर्नुभएको छ।  

प्रधानमन्त्री देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको उल्लेख गर्दै समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ६ : ४५ बजे