सत्ता र शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्न खोजे : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाउनुभएको छ ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरु आफूहरुलाई मान्य नहुने चेतावनी दिनुभयो ।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उहाँले आफू पक्षका नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने काम पार्टी नेतृत्त्वले गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले पार्टीको आगामी महाधिवेशनमा नेतृत्त्व रुपान्तरण गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो। 

‘वडा अधिवेशनहरु भयो भनेर नाटक रच्न खोजिएको छ । हामी यसलाई मान्दैनौं । यस्तो चुनाव हुनुहुँदैन । धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन । नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम भएको छ,’ पौडेलले भन्नुभयो, mसाथीहरुलाई पाखा लगाउने काम, जो भएको छ । हामी त्यसको विरोध गर्छौं । देशैभरी पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने प्रयास भएको छ । यस्तो दूस्साहस हुन दिँदैनौं  । नेपाली कांग्रेसलाई हामी लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा विचलित हुन दिँदैनौं ।’ 

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप समेत लगाउनुभयो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : १५ बजे