सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

काठमाडौँ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ । 

 समसामयिक राजनैतिक घटनाक्रम र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न  प्रधानमन्त्रीको निवास बालुवाटारमा अहिले बिहान १०ः०० बजे सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यसअघि शुक्रवार बसेको बैठकमा प्रधानमन्त्री देउवाले आ–आफ्नो पार्टीमा छलफल गरेर छिटो मन्त्रीहरूको नामावली दिन सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको थियो ।  

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । सरकार गठनको दुई महिना हुँदा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ९ : ३१ बजे