सङ्खुवासभा सामूहिक हत्या काण्डका दोषिलाई आज सार्वजनिक गरिदै, पारिवारिक रिसइबीका कारण आफन्तबाटै हत्या

काठमाडौं । सङ्खुवासभा सामूहिक हत्याकाण्डका दोषिलाई आज सार्वजनिक गरिदै छ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले स्थानिय लोकबहादुर कार्कीलाई पक्राउ गरेपछि आज सार्वजनिक गर्ने तयारी गरेको हो। 

गत सोमबार मादी –१ उम्लिङ खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उहाँकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका कार्की परिवारकै आफन्त भएको सङ्खुवासभाका प्रहरीले जनाएको छ । यस विषयमा आज पत्रकार सम्मेलन गरेर जानकारी गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तो छ घटना घट्नुको कारण

एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन्। उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो।

लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए। यसैबीच गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई लोकबहादुरले बाटोमै कुरेर बसे। र, आक्रमण गरेर हत्या गरे। ​तेजबहादुरको हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गए। घरनजिकै रहेको खोलाछेउमा उनीहरूलाई पनि लोकबहादुरले ह्यामरले हिर्काएर हत्या गरे।

हत्या गरेको प्रमाण मेटाउन लोकबहादुरले आठ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई समेत बारीमा लखेटी–लखेटी हत्या गरे। त्यसपछि पनि लोकबहादुरले तेजबहादुरको घरमै पसेर कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरे। यो रहस्य भने लोकबहादुर प्रहरीले पक्राउ गरेपछि बाहिरिएको हो। आफन्तसमेत रहेका लोकबहादुरले सपरिवारकै हत्या गरेको स्वीकार गरेको प्रदेश नम्बर १ का डिआइजी अरुणकुमार बिसीले जानकारी दिएका छन्।

६ जनाको ज्यान जाने गरी भएको गत सोमबारको घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो। सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो। लोकबहादुरले पनि व्यक्तिगत रिसीबीका कारण हत्या गरेको स्वीकार गरिसकेका छन्। हत्या गरिएका तेजबहादुरले केहि गर्न नसकेको भन्दै  ‘हेपेका कारण’ आफूले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन्।

त्यसो त २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर नाताले काका–भतिज हुन्। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर, घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको उनले स्वीकारेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ६ : ३४ बजे