एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री देउवालाई भेटिन

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छिन्।

प्रधानमन्त्री देउवा र उपाध्यक्ष फतिमाबीच शुक्रबार बेलुकी बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भोटवार्ता भएको हो। भेटमा उनीहरूले एमसिसीबारे आ(आफ्नो धारण राखेका थिए।

साथै एमसिसीले नेपालको आर्थिक रूपान्तरण गर्न सक्ने सम्भावनाबारे छलफल भएको प्रधानमन्त्री देउवाले ट्वीटरमा उल्लेख गरेका छन्। ‘आज एमसिसीको उपाध्यक्ष फतिमालाई भेट्न पाउँदा खुसी लाग्यो,’ उनले लेखेका छन्,’ हामीले नेपाल–अमेरिकी सहयोग एमसिसी कम्प्याक्ट र यसले नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आ–आफ्नो विचार राख्यौं।’

फतिमाले आजै ऊर्जामन्त्री पम्फा भुसालसँग पनि भेटवार्ता गरेकी छिन्। उपाध्यक्ष सुमारले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन्। उनले हिजो नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, डा.बाबुराम भट्टराई, माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूलाई भेटेकी थिइन्।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ९ : १४ बजे