यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

संसद बैठक : सभामुख आत्तिए

काठमाडौं । संघीय संसदको नवौँ अधिवेशन बुधबार अपरान्ह ठीक चार बजे सुरु भयो । राष्ट्रिय गान बजिसकेपछि सभामुखले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्दै राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान सम्बन्धी प्राप्त पत्र पढेर सुनाउन थाले । पत्र पढ्न सुरु गरेलगत्तै एमाले सांसदहरु उठेर टेवुल ठोक्न थाले । टेवुल ठोक्न थालेलगत्तै सभामुखले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्ने अनुमति दिए । 

भट्टराईले सभामुखको कमजोरी औँल्याउँदै बैठक चल्न नदिने बताएर बस्न नभ्याउँदै सभामुखले आत्तिएर लिखित पत्र पढ्न थाले । उनले पत्रमा आफुले किन एमालेका १४ सांसदलाई कारबाहीको प्रक्रिया अघि नबढाएको भनेर बताउन नभ्याउदै एमाले सांसद उठेर रोष्टमतर्फ अघि बढे । 

रोष्टम नजिक पुगेर नारावाजी गरेपछि सभामुख थप हतास र आत्तिएको देखिन्थे । प्रचलित कानुनअनुसार आफूले निर्णय लिएको सभामुखले बताइरहँदा एमालेका सांसद रोष्टमतर्फ अघि बढे । त्यसपछि सभामुख सापकोटा आत्तिएको देखिन्थ्यो । आत्तिँदै सभामुख सापकोटाले भने, ‘नियमको २१ खण्ड ‘ख र ग’ ध्यानाकर्षण गर्छु ।’

सभामुखले नियमप्रति ध्यानाकर्षण गराएपनि एमालेको सांसदहरुको नाराबाजी रोकिएन । त्यसपछि डराएको भावमा सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरु, देशमा संविधान छ, कानुन छ, ऐन छ । मर्यादा बाहिर नजानु होला । संसदको गरिमा र मर्यादाभन्दा बाहिर नजानु होला । फेरि पनि म भन्छु, प्रतिनिधि सभा नियमावली २०७५ को ‘ख र ग’ तपाइँहरुलाई गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।’ 

सभामुखको बारम्बारको चेतावनीपछि पनि एमाले सांसदहरुको नाराबाजी नरोकिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरियो ।  

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : ०९ बजे