यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

संघीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि 

काठमाडौं । संघीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको थियो ।

यसपटक संघीय संसद्‍मा मा नेकपा (एमाले) विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिने भएका छन्। संसद्‍मा दुई दल थपिने तथा सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद्‍ सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाइसकिएको जानकारी गराएको छ।

संघीय संसद्‍ सचिवालयका प्रवक्ता दशरथ धमलाले थपिएका नयाँ दलको लागि पनि सिट व्यवस्थापन गरिसकिएको जानकारी दिनुभयो। सबै दलका नेताहरु अगाडि रहनेगरी र अन्य सदस्यहरु क्रमशः पछाडि रहनेगरी दूरी कायम गरेर सिटको व्यवस्थापन मिलाइएको उहाँले बताउनुभयो। 

सत्तापक्षतर्फ बीचबाट ठूलो दल र क्रमशः सदस्य संख्याको आधारमा साना दल रहने व्यवस्था मिलाएको छ। यसो गर्दा सत्ता पक्षतर्फ दायाँ तर्फबाट क्रमशः नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहने छन्। 

त्यसैगरी प्रतिपक्षतर्फ भने क्रमशः नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी सिटको व्यवस्थापन मिलाइएको छ। स्वतन्त्र सांसद लगायत साना दलका सांसदहरुलाई भने बीचमा सिटको व्यवस्थापन गरिएको छ।

त्यसैगरी राष्ट्रिय सभातर्फ भने राष्ट्रिय सभा अध्यक्षको दायाँतर्फ सत्तापक्ष र बाँयातर्फ प्रतिपक्ष रहनेगरी व्यवस्था मिलाइएको छ। सत्तापक्षतर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहने छन् भने प्रतिपक्षतर्फ नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ । 

 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : ३८ बजे