यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

माओवादीले एमसीसीको विरोध गर्नुको कुनै तुक छैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे अनावश्यक भ्रम फैलाइएको बताउनुभएको छ । नेपाली कांग्रेस संसदीय दलको मंगलबारको बैठकमा बोल्दै उहाँले जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने भन्दै एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको टिप्पणी गर्नुभयो ।  ‘हामीले मागेर परियोजना आएको हो, अमेरिकाले जबरजस्ती दिएको भन्ने भ्रामक कुरा चिर्नुपर्छ,’ देउवाले भन्नुभयो । 

प्रधानमन्त्री देउवाले अहिले माओवादीले एमसीसी परियोजनाको विरोध गर्नुको तुक नभएको धारणा राख्नुभएको थियो । ‘तत्कालीन राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जो माओवादी निकट थिए उनीहरूकै सल्लाहमा तत्कालीन अमेरिकाका लागि नेपाली राजदूत शंकर शर्माको माध्यमबाट अनुनय विनय गरेर परियोजना ल्याइएको हो,’ बैठकमा उहाँले भन्नुभयो ।

देउवाले एमसीसी सम्झौताबारे बुझेका सांसदहरुलाई मात्र बोल्न निर्देशन पनि दिनुभयो । देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको दाबी गर्दै प्रतिष्पर्धाबाट प्राप्त गरेको अनुदान सहयोगले लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिने बताउनुभयो ।

बैठकमा संघीय संसदको आगामी महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको छ । संघीय संसदको अधिवेशन बुधबार अपरान्ह ४ बजेका लागि आह्वान गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ८ : ३० बजे