यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

बढ्न थाले कोरोना सङ्क्रमित

चितवन – जिल्लामा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३०  सक्रिय सङ्क्रमित  छन् । गत असार १३ गते १ हजार १४ मा झरेको  सङ्क्रमित  यही साउन १४ मा आइपुग्दा पबढेर दुई हजार ३० पुगेको हो ।
 
     कार्यालयका अनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गत वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको संख्या उच्च पुगेको थियो । जेठ १० गते सङ्क्रमितको संख्या ४ हजार ७१३ पुगेको थियो ।
 
    असार लागेसँगै घट्दै गएको सङ्क्रमितको संख्या पुनः बढ्न थालेको छ  । असार १ गते १ हजार ५४८ रहेको संक्रिय सङ्क्रमितको संख्या घट्दै गएर असार १३ गते १ हजार १४ मा झरेको थियो । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते १ हजार ८७, १६ गते १ हजार १९८, १८ गते १ हजार २२० हुँदै असार २३ गते १ हजार २७१ पुगेको थियो । उहाँका अनुसार असार १२ गतेदेखि साउन १३ गतेसम्म आइपुग्दा नयाँ सङ्क्रमित मात्र १ हजार ३४ थपिएका छन् ।
 
    संक्रिय सङ्क्रमितको प्रतिशत पनि बढ्दै गएको छ । कार्यालयका निमित्त प्रमुख अमृत महर्जन निषेधाज्ञा खुकुलो हुँदै जाँदा सङ्क्रमित बढ्दै गएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “राम्रोसँग सङ्क्रमितको संख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि कोरोनाको जोखिम बढेको छ ।” कोरोना नियन्त्रणका लागि अहिले खोपको अभियान जारी रहेको जनाउँदै उहाँले कारोना सङक्रमण बढ्दै गएकाले सबै सजग रहन आग्रह गर्नुभयो ।
 
    जिल्लामा रहेका सङक्रमित मध्ये ११६ का अस्पतालमा उपचार भइरहेको छ । नौ सार्वजनिक आइसोलेसनमा र १ हजार ९ सय ५  होम आइसोलेसनमा  छन् ।  जिल्लामा हालसम्म ३ सय २७ को मृत्यु भएको छ ।  कूल सङ्क्रमित संख्या २० हजार ९० पुगेको छ ।
 
    जिल्लाका अस्पतालमा बाहिरी जिल्लाका समेत गरी २१३ को उपचार भइरहेको छ । ती मध्ये ७५ सघन उपचार कक्षमा, १२  भेन्टिलेटरमा, ५० एचडियूमा र ८८ सामान्य श्ययामा उपचाररत छन् ।

–नारायण अधिकारी/रासस

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १२ : १२ बजे