यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

महिला सहकारीलाई ढुवानीका साधन

रुपन्देही – हेफर इन्टरनेशनल नेपालले लुम्बिनी प्रदेशका १२ सहित विभिन्न जिल्लाका महिला सहकारीलाई ढुवानीका साधन हस्तान्तरण गरेको छ । 

    आज बुटवलमा आयोजना गरिएको कार्यक्रममा सहकारीका प्रतिनिधिलाई ढुवानी साधनको चाबी हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले महिला सहकारीमा गरिएको लगानी खेर नजाने बताउनुुभयो । धैर्यता बढी हुने भएकाले पशुपालनमा महिला सफल भएको उहाँको भनाइ थियो । “पशुपालनमा धैर्यता चाहिन्छ । दैनिक श्रम गर्ने कुरामा पुरुषले कम रुची राख्छन् । त्यसैले पशुपालनमा महिला बढी सफल देखिन्छन्”, मुख्यमन्त्री पोखरेलले भन्नुुभयो । 

    कृषि सामग्री ढुवानीका लागि प्राप्त सवारीलाई आवश्यक काममा मात्रै प्रयोग गरी लाभ लिन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले ढुवानीका साधनले कृषकलाई बजारीकरणमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । कृषिमा युवालाई आकर्षित गर्न आधुनिकीकरण र व्यवसायिकरण जरुरी रहेको बताउँदै उहाँले त्यसका लागि सहकारीले उत्पापदनमा सहजीकरण र बजारीकरणको नेतृत्व गर्नुपर्ने उल्लेख गर्नुभयो । “कृषि प्रधान देश त भन्छौँ तर कृषिको तुलनामा श्रम निर्यात गर्ने मुलुकका रुपमा विकसीत हँुदैछ । जसले नेपालको उत्पादकत्व विकास गर्ने योजनामा असर गरेको छ”, उहाँले भन्नुुभयो । 

    लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले प्रदेश दूध र मासुुमा आत्मनिर्भर हुन लागेको जनाउँदै उत्पादनमा आत्मनिर्भर बनाउन सरकार प्रयत्नशील रहेको बताउनुुभयो । पूर्वमन्त्री आरती पौडेलले कृषकलाई आत्मनिर्भर बनाउन यसअघि कृषि मन्त्रालयले ल्याएका अनुदानका कार्यक्रमले सकारात्मक प्रभाव पारेको जानकारी दिनुभयो । 

    बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रदेशका कृषि उत्पादनलाई एकीकृत र बजारीकरण गर्न भौतिक संरचना निर्माणको काम भइरहेको बताउनुुुभयो । हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मीले कृषि उत्पादनको बजारीकरणका लागि ढुवानीको समस्या नहोस् भनेर ढुवानीका साधन सहयोग गरिएको बताउँदै यसले उत्पादनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

    हेफरले विभिन्न जिल्लाका २८ वटा कृषि सहकारीलाई कृषि ढुवानीको साधन हस्तान्तरण गरेको हो । कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउने उद्देश्यले लुम्बिनी प्रदेशका दाङ, पाल्पा, अर्घाखाँची, बाँके, गुल्मी र बर्दियाका १२ सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो । 

    त्यस्तै प्रदेश १ मा एक,  प्रदेश २ मा पाँच, वाग्मती प्रदेशका छ र गण्डकी प्रदेशका चार सहकारीले कृषि ढुवानी साधन बोलेरो जीप प्राप्त गरेका हुन् । हेफर इन्टरनेशनलले साना किसानहरूको दिगो विकासमा सहयोग गर्ने गरी उपलब्ध गराएको ढुवानी साधनबाट २० हजार ७५१ बढी कृषकले प्रत्यक्ष लाभ लिन सक्ने छन् । 

रासस

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ६ : ०८ बजे