टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । 

चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ । 

प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले हालसम्म पाँच स्वर्ण र एक रजत तथा अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कास्य प्रदक प्राप्त गरेको छ । 

यस्तै दुई स्वर्ण र तीन कास्यसहित कोरिया चौथो तथा एक स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा रहेको छ । 

यसैगरी इटाली, अस्टे«लिया, फ्रान्स, हङ्गेरी, ट्युनिसिया, अस्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्याण्ड र उज्बेकिस्तानले एक एक स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ४२ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।   

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसक्नुभएको छ । दुवै जना पराजित भइसक्नुभएको छ । परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो । 

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । 

सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । शाहले मङ्गलबार, सिंहले बुधबार तथा चौधरीले शुक्रबार आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्नुहुनेछ । रासस   

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ८ : २३ बजे