‘अति सुन्दर मानव जीवन यो, अझै सुन्दर पार्नु कसो गरी हो !’ कवि धरणीधर कोइरालाको कविताको यो पंक्तिले जीवनको सुन्दरताको निरन्तरता व्यक्त गरेको छ । विगत बितिसक्यो, भविष्य अनिश्चित छ । सुन्दर होस् वा विद्रूप, विगत स्मृति मात्र हो, भविष्य परिकल्पना, संभावना र प्रयत्नकै भरोसामा छ । आफ्नै हातमा रहेको जीवन त वर्तमान मात्र हो । त्यसैले, भन्ने गरिन्छ, ‘वर्तमान सुधार भविष्य आफु सुध्रने छ ।’ स्वर्ग र नर्क पनि आफ्नै हातमा छ । मृत्युपछिको स्वर्ग र नर्कको ठूलो चिन्ता गर्ने मानिसले वर्तमानमा साना कुरामा ध्यान दिन सके जीवनमै स्वर्गको सुनिश्चितता हुनेछ ।
प्रत्यक्ष—परोक्ष रूपमा स्वर्गलाई निर्वाण, मोक्ष, शिवसायुज्य, जन्नत, हेभेन Heaven आदि पनि भनिन्छ । कुनै पनि शब्द, वाक्य, उक्तिको अर्थ र प्रयोग वस्तुस्थिति सापेक्ष हुन्छ । नयाँ लुगा लगाएर ‘कस्तो छ ?’ भन्दा र विद्यालय जाने ‘बाटो’ कस्तो छ ? भन्दा वा ऊ त्यो पर देखिएको ‘हिमाल’ कस्तो छ ? आजै बनाएको काँक्राको ‘अचार’ कस्तो ? भन्ने प्रश्नको उत्तर प्रसंग फरक भए पनि एउटै ‘राम्रो छ’मा दिन सकिन्छ । तर, त्यहाँ प्रश्न गरिएका सबै लाउने मात्र, जाने मात्र, खाने मात्र वा हेर्ने मात्र विषय त होइन । त्यसैले शब्दले कहिले तथ्य, कहिले भाव, कहिले वस्तु, कहिले मान्यता वहन गरेको हुन्छ । कुनै पनि शब्दको अर्थ सापेक्षतामा लगाउनुपर्ने हुन्छ । निरपेक्ष रूपमा कुनै शब्दको अर्थ लगाउन खोजियो भने अनर्थ हुन सक्दछ । वस्तुको उपयोगमा पनि यो कुरा लागू हुन्छ, जस्तै थर्मसमा चिसो पनि रहन्छ, तातो पनि रहन्छ । यसको अर्थ तातो दूध र चिसो सर्वत सँगै राख्न मिल्छ भन्ने हुँदैन । त्यसैले, यहाँ सकारात्मक सोचका सन्दर्भमा स्वर्गको विषय ल्याउनुपरेको हो ।
के हो त स्वर्ग ? कहाँ छ त स्वर्ग ? स्वर्ग एउटा मान्यता हो, सुन्दर र सुखमय परिकल्पना हो । त्यस्तो परिकल्पना, जसले मानिसलाई सत्कर्ममा तल्लीन बनाउन प्रेरित गर्दछ । सत्कर्मद्वारा प्राप्य परिकल्पित गन्तव्य नै स्वर्ग हो । स्वर्ग एउटा त्यस्तो शब्द हो, जसले मानिसलाई निरन्तर सत्कर्ममा प्रेरित गरिरहन्छ । ‘स्वः’ भनेको उज्यालो हो । ‘स्वः’ भनेको सम्पन्नता वा वैभव हो । ‘स्वः’ भनेको आफु, आफ्नो वा आफन्त हो । ‘ग’ भनेको गमन, जानु, गन्तव्य हो । यसरी स्वर्ग भनेको आफु र आफन्त समेतले, आफ्ना सत्कर्मबाट वैभव र उज्यालो गन्तव्य प्राप्त गर्नु हो ।
विद्वानहरूले स्वर्गको बारेमा लेखेका केही कुरा यस्ता छन् : ‘१……….यहाँ बुढौती, थकाइ र डर छैन, बस्न राम्रा महल, सिंहासन, सभा आदि छन् । नाचगान आदि अनेक मनमोहक कुराहरूको भोग गर्न पाइन्छ । २. त्यस ठाउँ जहाँ खुब सुख पाइन्छ । ३. सुखविशेष । ४. आकाशमा रहेको विशिष्ट स्थान ।’ (संस्कृत—शब्दकोश, केएन स्वामी) यसको व्युत्पत्ति—‘सु सुष्ठु अज्र्यते’ गरिएको छ, जसको अर्थ— राम्रो आर्जन गर्नु—गरिने हुन्छ । यी सबैलाई एकीकृत गरेर बुझ्दा ‘मरेर मात्र देखिने वा पुगिने स्थान’ भन्ने मात्र अर्थ लाग्छ र ? लाग्दैन । यी सबै मानिसका सकारात्मक कर्मबाट प्राप्त हुने उच्च स्तरको प्राप्तिका विषय हुन् भन्ने स्पष्ट हुन्छ ।
तर, मृत्युपूर्व नै निर्वाण, मोक्ष, शिवसायुज्य, जन्नत, हेभेन ज्भबखभल प्राप्तिको परिकल्पना गरेको देखिन्न । भनिन्छ नि, ‘नमरी स्वर्ग देखिँदैन ।’ यो अकर्मण्य र निराशावादी सोच हो । शब्दको अर्थ सही ढंगले लगाउन नसक्दा यस्ता अन्धविश्वास र निराशावाद जन्मेको, हुर्केको र विस्तार भएको हो । स्वर्ग र धर्म यी दुवैलाई आस्तिकतासँग जोडेर हेर्ने, बुझ्ने गरिन्छ । स्वर्गका विषयमा माथि केही चर्चा गरिएको छ । धर्मका विषयमा संक्षिप्त विमर्श गरौँ । धर्म गर्ने मानिस स्वर्गमा जान्छन् । भनेपछि धर्म के त ? मानिसहरू प्रश्न गर्छन्— धर्म के हो ? धर्म छ र ? धर्म मान्नुहुन्छ ? आदि—इत्यादि….। सर्वप्रथम त धर्म भनेको के हो भनेर बुभ्mने प्रयास गरौँ । धर्मको परिभाषा सबैले एउटै रूपमा गरेका छैनन् ।
सामान्यतया धर्मको विषयमा बुझ्न सजिलो हुने गरी मनुस्मृतिमा त्यसका लक्षण बताइएको छ । त्यो यस प्रकार छ : धृतिः क्षमा दमोद्रस्तेयं शौचमिन्द्रियनिग्रहः । धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।। धारणा बनाउनु, धैर्य गर्नु, अरुलाई क्षमा गर्नु, आफ्ना कामनाहरूलाई नियन्त्रित गर्नु, चोरी नगर्नु, स्वच्छता कायम राख्नु, इन्द्रियहरूलाई नियन्त्रण गर्नु, बुद्धिमान हुनु, विद्यालाई महत्व दिनु, सत्यको पक्षपोषण गर्नु, क्रोध नगर्नु यी दस धर्मका लक्षण हुन् । नेपालमा धर्म मान्ने र नमान्ने प्रसङ्गमा राजनीतिक धारलाई जोडेर पनि भन्ने गरिन्छ—कम्युनिष्टहरू धर्म मान्दैनन् र अरूहरू भने मान्दछन् । कम्युनिष्टहरू धर्म मान्दैनन् भन्नेहरू मूलतः कार्ल माक्र्स र लेनिनको कुरा अघि सार्दछन् । कार्ल माक्र्स र लेनिन साम्यवादी दर्शनका प्रतिपादक र प्रयोक्ता हुन् । उनीहरूका सिद्धान्तअनुसार धर्मका विषयमा मात्र होइन, जीवन र जगतका जुनसुकै विषयलाई पनि एकोहोरो पाराले नहेरी द्वन्द्वात्मक हिसाबले हेर्नुपर्ने हुन्छ । कुनै विषयलाई एउटै पाटोबाट मात्र हेर्ने कुरा द्वन्द्ववादी हुन सक्दैन भन्ने हो । हरेक घटना, विषय र वस्तुलाई एउटै कोणबाट मात्र हेरियो भने सही निष्कर्षमा पुग्न सकिँदैन भन्ने सिद्धान्तकारले खास प्रसङ्गमा भनेका कुरालाई घोकेर त्यसैलाई सर्वस्व ठान्दछ भने ऊ द्वन्द्ववादी हुनै सक्दैन । कुनै पनि धारणा बनाउनु अघि सम्बन्धित विषयका सबै पाटा र पक्षहरू हेर्नु पर्ने हुन्छ । तर, कतिपय कम्युनिष्टहरू धर्म, अध्यात्म, संस्कृति, परम्पराका सन्दर्भमा गैरद्वन्द्ववादी, जडसूत्रवादी र अन्धविश्वासी छन् ।
धार्मिक दृष्टिले हेर्दा धर्म गर्नेहरू आस्तिक हुन्छन् । धर्म नगर्नेहरू नास्तिक हुन् । अब आस्तिक र नास्तिकबारे सानो चर्चा गरौँ । यी संस्कृत भाषाका शब्द हुन् । ठाउँ—परिवेश, अवस्था हेरी शब्दको अर्थ लगाउने गरिन्छ । धेरै अर्थ लाग्ने एउटै शब्द र एउटै अर्थ लाग्ने धेरै शब्द हुन्छन् । आस्तिक शब्दको अर्थ ‘हुन्छ वा छ’को भाव जसमा छ, ऊ आस्तिक हो । संस्कृत भाषाको ‘अस्ति’ शब्दको नेपाली अर्थ ‘छ (रहेको)’ भन्ने हुन्छ । त्यसै गरी ‘नास्ति’को अर्थ ‘छैन’ हो । यसरी हेर्दा छैन भन्ने भाव जसमा बढी छ, ऊ नास्तिक हो । वस्तुगत हिसाबले के छ, के छैन भन्ने विषय ‘हुनु’ र ‘नहुनु’ निर्धारण गर्दछ भने भाव वा परिकल्पनाको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । हुनुको भाव जनाउने आस्तिक र नहुनुको भाव जनाउने नास्तिक हो । सामान्यतया आस्तिकता र नास्तिकताको अर्थ यसरी बुझ्न सकिन्छ : ‘अस्ति’ (छ) — ता (पन वा भान) आस्तिकता । ‘नास्ति’ (छैन) — ता (पन वा भान) नास्तिकता । उदाहरणका लागि —शीतल(ता), उष्ण(ता), मित्र(ता), सत्रु(ता) आदि । मूल कुरा यही हो ।
यही विषय लोक—परलोकमा विश्वास गर्नेहरूले प्रयोग गर्दा अस्ति परलोक इति मतिर्यस्य सः आस्तिकः अर्थात् जसले परलोक छ भन्ने मान्दछ, ऊ आस्तिक हो । नास्तिको वेदनिन्दकः जसले वेद (पुर्खाले आर्जन गरेको ज्ञान)को निन्दा गर्दछ, ऊ नास्तिक हो । सवाल, तपाइँ परलोकमा विश्वास गर्नुहुन्छ भने स्वाभविक छ कि तपाइँको निष्कर्ष फरक हुन्छ । यी दुवैथरि अर्थमा ध्यान दिँदा भएको थियो, हो, हुन्छ, सकिन्छ…आदि भाव रहेको आशावादी सोच ‘सकारात्मक सोच’ हो भने हरेक विषयमा होइन, छैन, हुन्न, सकिन्न, हुँदै भएन…आदि भाव भएको निराशायुक्त सोच ‘नकारात्मक सोच’ हो । यस अर्थमा सकारात्मक हुनु भनेको आस्तिक र नकारात्मक हुनु नास्तिक हुनु हो । उत्साह, आशा, उमंगको सोच सकारात्मक सोच हो; हतोत्साह, निराशा, उदास सोच नकारात्मक सोच हो ।
अब चर्चा स्वर्ग र नर्कका विषयमा होइन; यस्ता विषयका कुरा धेरै भए । यी विषयका लागि धेरै मत—मान्यता र धार्मिक ग्रन्थहरूमा वर्णन छ । अब को आस्तिक, को नास्तिक भन्ने छुट्याउन वेद—पुराण पढिरहन पर्दैन । वेद, पुराण, उपनिषद् ग्रन्थहरू प्राचीन प्रवन्धहरू बुझ्न, सभ्य समाज निर्माणमा पुर्खाका योगदानबारे जान्न र उनीहरूप्रति कृतज्ञ हुन पढ्ने हो । यतिखेरको आवश्यकता त समानता, सद्भाव, सम्मान र सकारात्मक सोचको हो । ‘स’बाट उठ्ने यी चार विषयले समाजमा सहअस्तित्व र सहकार्यको पक्षपोषण गर्दछन् । यसबाट समृद्धि, सुख, सन्तोष र शान्ति प्राप्त हुन्छ । समानता, सद्भाव र सम्मान मूलतः सकारात्मक सोचकै अवयव हुन् । त्यसैले अहिलेको समाजलाई सही मार्गमा अघि बढाउन सकारात्मक सोचको अभ्यास आवश्यक छ ।
मानिस सोच्न सक्ने प्राणी हो । यसले केही गर्नुपूर्व सोच्दछ । अनि कार्यान्वयन गर्न कार्ययोजना बनाउँछ र कार्यान्वयन गर्दछ । यसबाट प्राप्त हुन्छ— सकारात्मक परिणाम । यसैलाई सूत्रमा भन्न सकिन्छ ः ‘सकारात्मक सोच, सकारात्मक दृष्टि ! सकारात्मक कर्म —सकारात्मक संस्कृति !!’
यही नै सकारात्मक सोचको समग्रता हो, यही नै कल्याणकारी सोच हो । समाजका बहुसङ्ख्यक मानिसहरुको हित हुने बाहेकको सोचलाई सकारात्मक सोच भन्नै मिल्दैन र भन्न हुँदैहुन्न पनि । जुन सोचले बहुसङ्ख्यक मानिसहरुको जीवनलाई सकारात्मकतातर्फ डोहो¥याउँछ, त्यही सोच नै वास्तवमा सकारात्मक सोच हो ।
सकारात्मक सोचका बारेमा केही मानिसका सोच निरपेक्ष, निर्जीव र निःसार पनि रहेको पाइन्छ । यस्तो सोच राख्ने मानिसहरु प्रायः भन्ने गर्दछन्— सकारात्मक सोच भनेको विषय वा घटना जस्तोसुकै होस्, त्यसले मानिस र प्रकृतिलाई जतिसुकै हानी पु¥याइराखेको होस्, यसैलाई आधार बनाएर कसैले कसैलाई पीडा दिइरहेको होस् राम्रै सोच्नु र भन्नुपर्ने मान्यता राख्दछन् । उनीहरुका सोच अनुसार सोचलाई सोचसम्म मात्र सीमित पार्न खाजेको देखिन्छ । यस्ता सोच राख्नेहरू सकारात्मक सोचप्रति नै नकारात्मक धारणा जन्माउन र हुर्काउन सहयोगी भइरहेका हुन्छन् । सकारात्मक सोच मृत्युलाई राम्रो मान्नु होइन, तर मृत्युबाट पनि केही कुरा सिक्न सकिन्छ भन्ने सोच हो । सकारात्मक सोच असफलता र पराजयलाई राम्रो मान्ने सोच होइन, तर असफलता र पराजयबाट पनि सिक्न सकिन्छ भन्ने सोच हो । सकारात्मक सोच मानिसमा विद्यमान दुर्गुणहरुलाई राम्रो भन्ने सोच होइन, तर कसैका दुर्गुणहरुबाट पनि शिक्षा लिन सकिन्छ भन्ने सोच हो । सकारात्मक सोच फोहरलाई नै मोहर मान्ने सोच होइन, तर फोहरमा मोहर खोज्नुपर्छ भन्ने सोच हो । सकारात्मक सोच एउटा विषयमा असफल भएको मानिस सधै असफल मात्रै हुन्छ भन्ने सोच होइन, तर उसभित्र पनि सफलताका सम्भावना हुन्छ भन्ने सोच हो । सकारात्मक सोच समाजमा रहेका नराम्रा सोचहरुलाई नराम्रा पक्षहरुलाई खोज्ने, त्यसैका बारेमा चर्चा बढाएर गोडमेल गर्ने, सम्भावित अवसरहरूलाई नदेखी दुर्घनाका मात्र पर्खने सोच होइन, यो त मानिस, समाज, प्रकृतिमा रहेका सकारात्मक पक्षहरुको खोजी गरी त्यसैलाई बढाउन प्रयत्न गर्ने सोच हो । सकारात्मक सोच जो वा जे जस्तो अवस्थामा छ, त्यसलाई त्यही अवस्थामा सकारात्मक मानेर टुलुटुलु हेरर बस्ने लाचार सोच होइन, यो विद्यमान अवस्थाभन्दा अझ समुन्नत, सशक्त, प्रगतिगामी रूपान्तरणका लागि अवलम्वन गरिने सोच हो । यस्तो सोच नकारात्मक विभेदहरूलाई निमिट्यान्न गरी सकारात्मक रूपान्तरणमा लाग्न प्रेरित गर्ने सोच हो । अन्याय सहने नभई त्यस्तो अवस्था फेर्न सकिन्छ र फेर्न पर्दछ भन्ने सोच हो । सकारात्मक सोच लाचार, गनगने, गुनासे, विगतमुखी सोच होइन ।
अहिले कतिपय मानिसहरुमा कुण्ठा, वितृष्णा, उदासीनता, निराशा, अकर्मण्यता आदि बढेको देखिन्छ । विरोधका लागि विरोधको ‘सिद्धान्त’ अवलम्वन भइरहेको पाइन्छ । केही नहुने कुराको दोषजति अर्काकै टाउकोमा खन्याइरहन सजिलो मानिएको देखिन्छ । ‘यहाँ केही गरेर केही हुनवाला छैन’ भन्ने निष्कर्ष छिरोलिएको देखिन्छ । यस्तो अवस्थामा ‘केही हुन्छ, हामीले पनि केही गर्न पर्छ, केही गर्न सकिन्छ, गरेर नै हुने हो’ भन्ने उत्प्रेरणात्मक सोच सकारात्मक सोच हो । ‘मैले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ?’ भन्ने विषय सकारात्मक सोचका विषय हुन् । समाजमा दुईथरि मानिस छन्— यथास्थितिका पक्षपाती र रूपान्तरणका पक्षपाती । यथास्थितिका पक्षधरले लगाउने सकारात्मक सोचको अर्थ र रूपान्तरणका पक्षधरले लगाउने सकारात्मक सोचको अर्थ उस्तै हुँदैन । उद्देश्य र अभियानमूलक सकारात्मक सोच जे छ त्यसैलाई सकारात्मक मानेर बस्न सक्दैन, सकारात्मक रूपान्तरणका लागि सकारात्मक सोचको पक्षपोषण गर्दछ । सकारात्मक सोच विकास गर्न केही सूक्तिहरूको स्मरण तथा उपयोग गर्न सकिन्छ ।
ती यस प्रकार हुन सक्दछन् :
प्रयास गरे शिखर चढ्न सकिन्छ ।
हामीले जे कुरा खोजिरहेका, विचार गरिरहेका हुन्छौँ, अन्ततः त्यही नै पाउनेछौँ ।
विविधता प्राकृतिक हो, विभेद अन्याय हो ।
प्रकृतिले संसार बनायो, मानिसले समाज र संस्कृति बनायो ।
प्रकृति निर्मित संसार बुझ्न सकिन्छ, मानव निर्मित संस्कृति फेर्न सकिन्छ ।
जे रोप्यो त्यही उम्रिन्छ, जे उम्रिन्छ, त्यही फल्छ ।
प्रायः सकारात्मक प्रश्नले सकारात्मक नै उत्तर ल्याउँछ ।
हामी जहाँ जानकालागि लागिपरेका हुन्छौँ, अन्ततःत्यहीँ नै पुग्नेछौँ ।
सुन्दर संसार हेर्न शरीरको आँखा होइन, सुन्दर दृष्टिकोण चाहिन्छ ।
दोष सृष्टिमा होइन, दृष्टिमा हुन्छ । असल वृक्ष सजिलै उम्रिदैन ।
जसरी पिपल उम्रिन त्यसको बीउ चराको पेटमा पाक्नु पर्दछ ।
हावा जति तीब्रताले चल्छ, वृक्ष त्यति नै शक्तिशाली बन्दछ ।
चारैतिर ढोका थुनेर अँध्यारो भयो भन्न पाइँदैन ।
सुतिरहेको सिँहको मुखमा मृग आफै आएर पस्दैन ।
कुरेर बस्नेले त्यही पाउँछन्, जुन संघर्ष गर्नेले छोडेर गएका हुन्छन् ।
फूलको आँखामा, फूललै संसार , काँढाको आँखामा काँढै संसार आदि !
त्यसैले, नकारात्मक सोच हाम्रो प्रगतिको बाधक हुन्छ भने सकारात्मक सोच रूपान्तरणको माध्यम । सकारात्मक प्रश्न गरौँ, सकारात्मक उत्तर पाऔँ, सकारात्मक जिज्ञासा राखौँ, सकारात्मक समाधान पाऔँ, सकारात्मक सोचौँ, सकारात्मक गरौँ, सकारात्मक परिणाम प्राप्त गरौँ, यो नै समानता, सद्भाव, सम्मान सुख प्राप्तिको माध्यम हो, यो नै सामाजिक रूपान्तरणको माध्यम हो । जीवितै स्वर्ग प्राप्तिको माध्यम हो । सकारात्मकता वृद्धि गरौँ, सकारात्मक संस्कृति निर्माण गरौँ ।
प्रकाशित मिति : ६ असार २०७८, आइतबार ९ : ०३ बजे
प्रतिक्रिया