कोभिड–१९ को माहामारीका कारणले शिक्षालयमा भौतिक रूपमा उपस्थित भएर पठनपाठन नभएको एक वर्षभन्दा बढी भयो । अझै कतिञ्जेल यो स्थिति कायम रहने हो, कुनै टुङ्गो छैन्। नयाँ शैक्षिक वर्षमा विद्यार्थीहरू तल्लो कक्षाबाट माथिल्लो कक्षामा भर्ना गर्ने प्रक्रिया सुरू भएको छ। तर गएको वर्षमा नै विद्यार्थीहरूको सिकाइ उपलब्धि सन्तोषजनक वा पाठ्यक्रमअनुसार पूरा नभएकाले उनीहरूलाई माथिल्लो कक्षामा अपेक्षित प्रगति गर्न अप्ठ्यारो हुने स्थिति बन्दैछ। त्यसैले अब अपनाइने वैकल्पिक शिक्षणका उपायहरू प्रभावकारी बनाउन शिक्षक, शिक्षालयहरू, राज्यदेखि लिएर अभिभावकहरू पनि बढी जिम्मेवार हुनुपर्ने भएको छ। अन्यथा देशको भविष्य अन्धकारपूर्ण हुनेछ।
सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षा व्यवस्थामा आमूल परिवर्तन पहिलो सर्त होभने दोस्रो सर्त सार्वजनिक शिक्षालयहरूको स्तरोन्नति गर्नु हो। शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्न विज्ञहरूको संलग्नता रहने गरी शैक्षिक आयोग बनाउने र त्यसलाई समयसिमा तोकेर काम गर्ने अधिकार दिनुपर्छ। आयोगले शिक्षा क्षेत्रमा तत्काल गर्नुपर्ने कामहरू प्राथमिकताका आधारमा सुचिकृत गरेर राज्यलाई सहजिकरण गर्दै दीर्घकालमा गर्नुपर्ने कामहरूमा समय र सामर्थ्य प्रयोग गर्न मन वचन र कर्मले तयार हुनुपर्छ। सार्वजनिक शिक्षालयहरूको स्तरोन्नति गर्नका लागि स्थानीय सरकार, व्यवस्थापन तथा प्रशासनमा संलग्न पक्षहरू र अभिभावक तथा विद्यार्थीहरूको भूमिका बढाउनु पर्छ। यसका लागि ति शिक्षालयहरूमा हुने पठनपाठन निजी शिक्षालयहरूको भन्दा विशिष्ट बनाउनु पर्छ।
यतिखेर सरोकारवालाहरूको ईच्छा सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनमा केन्द्रीत हुनुपर्छ। शिक्षाको सवालमा स्थानीय, प्रदेश र संघीय सरकारको भूमिका स्पष्ट रूपमा परिभाषित पनि गरिनु पर्छ। आजको पहिलो आवश्यकता शैक्षिक गुणस्तर विशिष्ट बनाउने, सार्वजनिक शिक्षालयप्रति अभिभावक तथा विद्यार्थीहरूको विश्वास बढाउँदै नयाँ पुस्तालाई सार्वजनिक शिक्षालयमा पठनपाठन गराउने वातावरण तयार गर्ने र व्यवस्थापनमा भइरहेको राजनीतिकरण अन्त्य गर्दै विशुद्ध शैक्षिक मुद्दामा केन्द्रीत भएर क्रियाशील हुन चाहने व्यक्तित्वहरूलाई व्यवस्थापन तथा प्रशासनमा संलग्न गराउने नीति र विधि सुनिश्चित गर्नुपर्छ। यति भयोभने यथास्थितिमा पनि शैक्षिक प्रगति सन्तोषजनक बनाउन र शैक्षिक माफियाहरूबाट शिक्षा क्षेत्र जोगाउँदै अभिभावकहरू माथिको आर्थिक भार कम गर्न सकिन्छ।
अहिले हामीलले चर्चा गर्न खोजेको मुद्दा वैकल्पिक सिकाइ कसरी प्रभावकारी बनाउने भन्ने हो। किनभने तत्काल भौतिक रूपमा उपस्थित भएर पठनपाठन सुचारू गर्ने परिस्थिति बनेको छैन्। ग्एको वर्ष हामीहरूले अपनाएको वैकल्पिक पठनपाठनका उपायहरूले अपेक्षित सिकाइ उपलब्धि हासिल गर्न सकेको थिएन। विद्यार्थीहरूको सिकाइ उपलब्धि कस्तो भयो भनेर पाठ्यक्रमअनुसार ठीक मापन पनि भएन। यसले एकातिर विद्यार्थीहरूमा अध्ययनशील भावनाको विकास गर्न सकेनभने अर्कोतिर सिकाइ उपलब्धिको ठीक मापन नहुँदा कमजोर विद्यार्थीहरूको पढाइ अझ कमजोर हुने सम्भावना बढेको छ। तर शिक्षा क्षेत्रका सरोकारवालाहरूले यो पाटोलाई ख्याल गरेको देखिदैन्। शिक्षा मन्त्रालय एउटा शैक्षिक सत्र सकियो, अर्को शैक्षिक सत्र सुरू भयो र यति विद्यार्थी भर्ना भएभन्ने खालका तथ्याङ्कहरूमा अलमलिएको छ। नयाँ पुस्ताले ठीक शिक्षा पाउन नसकेर देशको भविष्य सङ्कटमा पर्दैछ भन्ने कुराप्रति शिक्षा मन्त्रालय चिन्तित देखिदैन्।
यी त विगत भए। यसको समिक्षामात्र गर्न सकिन्छ। त्यसमै अलमलिएर अघि बढ्न सकिंदैन्। विगतबाट सिकेर वर्तमानमा क्रियाशील हुँदै भविष्य सुन्दर बनाउन बालबालिकाहरूको शिक्षालाई स्तरीय बनाउन प्रभावकारी वैकल्पिक उपायहरू सुव्यवस्थित तरिकाबाट अवलम्बन गरिनु पर्छ। भर्चुअल माध्यममा मात्र भर परेर पठनपाठन नियमित गर्न खोज्नुको खासै कुनै अर्थ छैन्। एकातिर सबै विद्यार्थीहरू भर्चुअल माध्यमबाट शिक्षा लिन सुविधाका दृष्टिकोणले तयार छैनन् भने अर्कोतिर जो(जोसँग यी सुविधाहरू उपलब्ध छन्, उनीहरू मानसिक रूपमा स्पष्ट छैनन्।
ठाउँ विशेष, उपलब्ध सुविधा र विद्यार्थीहरूको उमेर समुहअनुसार वैकल्पिक शैक्षिक गतिविधिहरू अघि बढाउनु पर्छ। विद्यार्थीहरूको सिकाइ विशिष्ट बनाउन शिक्षकहरूको भूमिका विशेष हुन्छ र विशिष्ट बनाउनु पर्छ। शिक्षकको अगुवाइमा शिक्षक, विद्यार्थी र अभिभावकहरूको बीचको सहकार्य प्रभावकारी बनाउन स्थानीय सरकारहरूले अग्रसरता लिनुपर्छ। शिक्षकहरूलाई विद्यार्थी जहाँ छन् त्यहाँ पुग्न प्रेरित गर्नुपर्छ। शिक्षकहरू विद्यार्थी खोज्दै गाउँ(गाउँ र टोल(टोलमा पुग्न थालेभने त्यसले शिक्षक र समुदायबीचको सम्बन्धमात्र सुध्रिदैन्, विद्यार्थीहरूको पठनपाठनमा सक्रियता पनि बढ्छ। स्वअध्ययनमा रमाउने बानीको विकास पनि गर्छ। जब विद्यार्थी अध्ययनशील हुन थाल्छ, तब उसले भर्चुअल माध्यमबाट हुने पठनपाठनमा पनि बढी ध्यान दिन थाल्नेछ।
वैकल्पिक शिक्षण क्रियाकलापहरू प्रभावकारी बनाउने उपायहरू
१. शैक्षिक जनशक्तिको मनोविज्ञान र क्रियाशीलताः शैक्षिक जनशक्तिलाई जागिरे मनोविज्ञानलाई मूक्त बनाएर जुनसुकै परिस्थितिमा पनि विद्यार्थीहरूको शैक्षिक क्रियाकलाप स्तरीय बनाउन उनीहरूको सहभागिता सक्रिय बनाउने गरी नियमित तालिम, पृष्ठपोषण र उत्प्रेरणा जगाउने र सबै तरिकाबाट प्रोत्साहन गरिरहने।
२. शिक्षण सिकाइका सामाग्री र भौतिक सुविधाः शिक्षकले आफ्नो क्षमतालाई पूरापुर प्रयोग गर्नका लागि उनीहरूलाई आवश्यक शिक्षण सिकाइका सामाग्री तथा भौतिक सुविधाहरू नियमित उपलब्ध गराउने। शिक्षकले औपचारिक होस् वा अनौपचारिक जुनसुकै माध्यमबाट विद्यार्थीसँग जोडिन आवश्यक सेवा सुविधाहरू समय मै उपलब्ध भएको छ वा छैन्, त्यसको उपयोग ठीक ढङ्गले भयो वा भएन, त्यसको ठीक लेखाजोखा राख्ने।
३. विद्यार्थीहरूको उमेर समुहअनुसारको शिक्षण रणनीतिः कोभिड–१९ का कारणले सबै विद्यार्थीहरूलाई विद्यालयमा ल्याएर पठनपाठन नियमित गर्न सकिन्न। त्यसैले उनीहरूको उमेरअनुसार अथवा कक्षानुसार उनीहरूलाई सहयोग गर्ने नीति बनाउनु पर्छ। साना कक्षाका विद्यार्थीलाई घर मै बसेर पढ्न प्रेरित गरेतापनि आठ कक्षाभन्दा माथिका विद्यार्थीहरूलाई पालैपालो हप्तामा दुई दिन विद्यालयमा बोलाएर उनीहरूको सिकाइ उपलब्धिको प्रत्यक्ष वा अप्रत्यक्ष मापन र प्रयोगात्मक क्रियाकलाप गराउने, सैद्धान्तिक र प्रयोगात्मक क्रियाकलाप गर्न थप सहयोग र परामर्श के चाहिन्छ, सोअनुसार शिक्षण क्रियाकलापको योजना बनाउने। यो माहामारीमा शैक्षिक गतिविधि कमजोर र निस्प्रभावी हुन नदिन विद्यालय र समुदायबीच सम्पर्क बढाएर अभिभावकहरूसँगको सम्बन्ध सुधार गर्दै घर–घरमा विद्यालय पुगेको अनुभूति गराउँदै स–साना बालबालिकाहरूका लागि होम स्कुलिङ गर्न अभिभावकलाई प्रयोग गर्ने।
४. स्थानीय सरकार मातहतको शिक्षा समितिको सक्रियताः पछिल्लो समय स्थानीय तहमा हुने शैक्षिक गतिविधिहरू र शैक्षिक संस्थाहरूबीचको सम्बन्ध राम्रो बनाउन भनेर शिक्षा समितिको परिकल्पना गरिएको छ। तर ति समितिहरूमा चयन भएका पात्रहरूको भूमिका र स्वार्थ सार्वजनिक शिक्षा बलियो बनाउनमा केन्द्रीत छ कि छैन्, त्यो पक्षको भने कुनै ख्याल गरिएको छैन्। राज्यले बनाएका समितिहरूले राज्यद्वारा सञ्चालित संस्थाहरूको स्वार्थमा काम गरिरहेका छन् कि छैनन्, त्यसको लेखाजोखा आवश्यक भएको छ। शिक्षा समितिले नगरपालिका वा गाउँपालिका स्तरमा हुने सबै शैक्षिक गतिविधिहरूको स्वतन्त्र र निष्पक्ष अनुगमन गर्ने। यो माहामारीमा ति समितिहरूले जनप्रतिनिधिहरूको सहयोगमा वैकल्पिक शैक्षिक गतिविधिहरू प्रभावकारी बनाउन भूमिका खेल्ने।
५.विद्यालय व्यवस्थापन समितिः यो माहामारीमा विद्यालय व्यवस्थापन समितिको भूमिका विशेष हुनुपर्ने हो, तर समितिले त्यो भूमिकालाई बुझेर सक्रियता बढाएको छैन्। राजनीतिक प्रभाव र पहुँचका भरमा समितिमा छनौट भएकाले उनीहरू विद्यालयप्रति भन्दा पनि सम्बन्धित दलप्रति बढी लगाव देखाउने हुँदा विद्यालयको अपेक्षित स्तरोन्नति गर्न भूमिका खेलेको पाईंदैन्। अब पनि यो खालको निरन्तरता स्विकार गरेर शिक्षालयभित्र दलीय राजनीति गर्न दिनु हुँदैन्। शिक्षा नियमावलीमा परिमार्जन गरेर भएतापनि विद्यालय व्यवस्थापन समितिमा दलीय राजनीतिक प्रभाव र दबावबाट मूक्त गर्दै समितिको क्रियाशिलता बढाउने।
अहिले जे–जसरी पठनपाठन भइरहेको छ, अन्ततः यसले हाम्रा सन्ततिहरूको आत्मविश्वास कमजोर र व्यवहार विवादित बनाउँदैछ। भर्चुअल माध्यमबाट मात्र पठनपाठन हुँदा एकातिर पाठ्यक्रमले तोकेअनुसार पढाइ पूरा नहुने अनि अर्कोतिर सिकाइ उपलब्धि प्रभावकारी नहुँदा विद्यार्थीहरूको मनोविज्ञान पढाइमा भन्दा ग्याजेट तथा कम्प्युटरमा खेल्न रमाउने भएको छ। यसले तत्काल घरमा समस्या देखिएतापनि दीर्घकालमा देशलाई ठूलो समस्यामा पार्नेछ। मुख्य सरोकारवाला व्यक्ति तथा निकायहरूले समय मै यी पक्षहरूलाई ख्याल गरेर अनौपचारिक संरचनात्मक शैक्षिक गतिविधि गर्नका लागि शिक्षकहरूको व्यापक परिचालन गर्नुपर्छ र अभिभावकहरूको सहयोग लिनुपर्छ।
अभिभावकहरूले पनि माहामारीले सिर्जना गरेको परिस्थितिको जटिलता र आवश्यकताहरूलाई बुझेर आफ्ना छोराछोरीहरूको शिक्षादिक्षा राम्रो बनाउन विशेष भूमिका खेल्न तयार हुनुपर्छ। घरमा पठनपाठनको राम्रो वातावरण तयार गरि दिनुपर्छ। छोराछोरीहरूले ग्याजेट तथा कम्प्युटरको प्रयोग के कसरी गरिरहेका छन्, त्यसको निगरानी गरेर उनीहरूलाई कुलतमा लाग्नबाट जोगाउनु पर्छ। सबै अभिभावकहरूमा ग्याजेट तथा कम्प्युटर चलाउने क्षमता नहोला तर छोराछोरीहरूले के गरिरहेका छन, के हेरिरहेका छन र के खेलिरहेका छन् भनेर हेर्न र प्रश्न गर्नभने सक्छन्। यसले एकातिर सेवा सुविधाहरूको दुरूपयोग हुन दिदैनभने अर्कोतिर बालबालिकाहरूमा राम्रो आनीबानी र संस्कारको विकास हुन गई उनीहरू भोलि देशका लागि असल नागरिक बन्नेछन्।
हामीले हाम्रो मानसिकतालाई नयाँ बनाउँदै शिक्षा र साक्षरताको परिभाषाका बारेमा पुनर्विचार गर्दै नयाँ ढङ्गले परिभाषित गर्न तयार हुनुपर्छ। हामीले बुझ्नुपर्छ, बालबालिकाका लागि घर पहिलो विद्यालय होभने बाबुआमा पहिलो शिक्षक। पहिलो विद्यालय र शिक्षकहरूको सक्रियताविना वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप प्रभावकारी बनाउन सकिन्न। त्यसैले अभिभावकहरूको सकारात्मक र रचनात्मक सहयोगको निरन्तरताका लागि विद्यालयले नियमित रूपमा उनीहरूसँग सम्वाद र सहकार्य गरिरहनु पर्छ। यसले कोभिड१९ को माहामारीबाट बालबालिकालाई जोगाउँदै शैक्षिक उपलब्धिलाई विशिष्ट बनाउँदै सम्भावनाहरूको पूरा प्रयोग गर्न सिकाउँछ।
प्रकाशित मिति : ५ असार २०७८, शनिबार १२ : ०६ बजे
प्रतिक्रिया