काँग्रेसले स्व. नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ । नेपाली काँग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

स्व गुरुङप्रति सम्मान प्रकट गर्दै बैठकले शोक कार्यक्रमअन्तर्गत बैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यस्तै वैशाख २८ गते पार्टीको केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ । 

नेता गुरुङको यही वैशाख २५ गते काठमाडौं ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ४ : २४ बजे