कोशी र सुदूरपश्चिममा एमाले र एसबीचको गुन–बैगुन नालीबेली

काठमाडौँ । गत असोज २० गते विश्वासको मत लिन  कोशी प्रदेशसभाको रोष्ट्रममा उभिनु भएका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा घोषणा गर्नुपर्‍यो। एक मत कम भएका कारण उहाँले मुख्यमन्त्री पद छोड्नुभयो ।

प्रदेशसभामा नेकपा एसका चार सांसदको मत पाउन नसकेर मुख्यमन्त्री कार्की अल्पमतमा पर्नुभयो । 

९३ प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन  आवश्यक थियो । एमालेका ४० र राप्रपाका ६ सांसद गरेर कार्कीको पक्षमा ४६ मत पुगेको थियो। तर नेकपा एसले एक मत नदिँदा हिक्मत कार्की नेतृत्वको सरकार टिक्न पाएन । प्रदेशसभामा ४ सदस्य रहेको नेकपा एसका सांसदहरूले उपस्थित भएर पनि मतदान नगर्ने घोषणा गर्दा समीकरण फेरियो ।

तर केही समयपछि सुदूरपश्चिम प्रदेशमा नेकपा एसले एमालेकै नियती भोग्नुपर्‍यो । सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेश नेकपा एसको भागमा पर्‍यो। तर नेकपा एसका त्यो प्रदेशमा ४ सदस्य मात्र थिए। ५३ सदस्य सुदूरपश्चिम प्रदेशसभामा सोडारीलाई मुख्यमन्त्री बनाउन माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका दुई, स्वतन्त्र एक र एकीकृत समाजवादीका चार जनाले हस्ताक्षर गरेका थिए । अब एमालेका १० जनाले हस्ताक्षर गर्दा सोडारीका लागि आवश्यक बहुमत पुग्थ्यो। 

तर कोशीको घटना भुलेर १० सिट भएको एमालेले चार सिट भएको नेकपा एसका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने बाटो खुला गरिदियो। 

कोशीको समीकरणमा निर्णायक मोडमा पुग्दा नेकपा एसको फाइँफुइँ कम थिएन। त्यो स्वाभाविकै थियो किन भने केन्द्र सरकारमा पनि नेकपा एसले यस्तै अवस्थामा घुर्क्याउने र धम्क्याउने शृङ्खला नै चलाएको थियो । 

तर पनि कोशीमा एमालेका मुख्यमन्त्री कार्कीलाई एसले मतदान नगरेर लगाएको बैगुनलाई सुदूरपश्चिममा एमालेले गुन लगाएर सहकार्यको बाटो खोल्यो । 

पछिल्लो समय सत्ता गठबन्धन फेरिँदा एमाले, माओवादी, नेकपा एस, जसपाबीच एक आपसमा सहकार्य भए । तर कोसी प्रदेशसभामा नेकपा एसका सदस्यहरू बुधबार रातिसम्म पनि काँग्रेसको साथमा रहे । अहिले पनि एमालेलाई समर्थन गरिसकेको छैन । 

तर एमालेलाई नेकपा एसले समर्थन नगरे पनि बहुमत पुग्ने भएको छ । त्यसैले अब कोसीमा नेकपा एसको भूमिका हराएको छ । केन्द्रीय सत्ता गठबन्धन अनुसार सो पार्टी सत्तामा हुनुपर्ने हो। तर, अहिलेसम्मको अवस्थामा नेकपा एस कोशीको सत्तापक्ष हो कि प्रतिपक्ष भनेर अन्योल छाएको छ। 

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  २ : ०३ बजे