यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयरपोर्टमा एडुरोम सेवा सुरु

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा एडुरोम सेवा औपचारिक रुपमा सुचारु भएको छ ।

यो त्रिभुवन विश्वविद्यालयका वैज्ञानिक अनुसन्धान सम्बन्धी संस्था, उच्च शिक्षा तथा विद्यार्थीहरूलाई शैक्षिक संस्थाबाट अर्को ठाउँमा पुग्दा आफ्नो शैक्षिक संस्थाको युजरनेम तथा पासवर्डबाट इन्टरनेट पहुँच स्थापना हुने सेवा हो । हाल विश्वका एक सय १० भन्दा बढी देशमा एडुरोम सेवा उपलब्ध रहेको जनाइएको छ । 

विश्वभर लाखौँ एडुरोम हटस्पट सञ्चालनमा आइरहेका छन् । यस्ता एडुरोम सेवा सम्बन्धी हटस्पटको विस्तार दिनानुदिन पुस्तकालय, म्युजियम, सार्वजनिक स्थान, बस स्टेसन, विमानस्थल तथा कफी शापहरूमा भइरहेको छ । यो संसारभर पूर्ण रुपमा निःशुल्क रूपमा उपलब्ध रहेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिक टर्मिनलभित्र जडान गरिएका ६० वटा भन्दा बढी स्थानबाट एडुरोम सेवाको पहुँच एकसाथ गर्न सकिनेछ । यो नेटवर्क सेवा सरल, सुरक्षित र सजिलो प्रविधिमा आधारित छ । यो सेवा विश्वभरका रोमिङ पहुँचबाट सञ्चालन हुन्छ । यसले रेडियस सर्भर मार्फत सुरक्षित कनेक्सन प्रदान गर्दछ । 

यो सेवा वैज्ञानिक अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी र सम्बन्धित संस्थाको कर्मचारीहरूका लागि तयार पारिएको हो । एडुरोमको इतिहासः वैज्ञानिक अनुसन्धान र अन्वेषणमा संलग्न, विश्वविद्यालय प्राध्यापक, तथा विद्यार्थीले सहज र सुरक्षित रुपमा आफ्नो संस्था भित्र इन्टरनेटमा जोडिन साथै एक संस्थाबाट अर्को संस्थामा गरिने यात्राको क्रममा इन्टरनेटको पहुँच सम्बन्धी आवश्यकतालाई सहज पार्नको लागि एडुरोमको जन्म युरोपमा भएको थियो । सन् २००४ डिसेम्बरमा अस्ट्रेलिया यस सेवामा आबद्ध भएको थियो ।

नेपालमा एडुरोमको सुरुवात सन् २०१७ बाट भएको हो । हाल काठमाडौँ विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, लुम्बिनी टेक्नोलोजिकल विश्वविद्यालय, नेपाल खुल्ला विश्वविद्यालय, वीर अस्पताल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय लगायत ४२ वटा संस्थामा एडुरोम सेवा उपलब्ध छ । यसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान, सम्मेलनहरूमा सहभागी तथा अन्तरदेशीय भ्रमण गर्दा एडुरोम सेवा उपलब्ध रहेको क्षेत्रमा सहजै पहुँच हुने गर्दछ । 

नेपालमा शैक्षिक संस्थाहरूमा विद्यार्थीहरूको आवागमन हुँदा इन्टरनेटमा सहज पहुँच उपलब्ध गराउनु यसको महत्त्वपूर्ण पक्ष हो । सुरक्षित र प्रतिस्थित इन्टरनेट एडुरोम उपयोग गर्दा प्रयोगकर्ता सम्बन्धित संस्थाबाट एक युजरनेम र पासवर्ड अत्यन्त सुरक्षित तरिकाले प्राप्त गर्ने गर्दछन् । यसले विद्यार्थीहरूलाई एडुरोम सेवा उपलब्ध भएका विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय स्थानहरूमा अनलाइन शिक्षा, अनुसन्धान, र कन्फरेन्सहरूमा आवश्यक पर्ने इन्टरनेटको सहजै पहुँच पुर्‍याउने गर्दछ । 

नेपालमा एडुरोम प्रणालीको आधिकारिक सेवा प्रदायक नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरएन) हो । यो संस्थाबाट एडुरोमको प्रवर्धन तथा सेवा जडान गर्नुका साथै सम्पूर्ण प्राविधिक सहयोग प्रदान हुँदै आइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिक टर्मिनलमा एडुरोम सेवाको विस्तारसँगै वैज्ञानिक अनुसन्धान तथा उच्च शिक्षाको क्षेत्रमा जोडिएका व्यक्तित्वहरूलाई नेपालले विशेष महत्त्व दिएको अनभुति यसका प्रयोगकर्ताहरूले गर्ने गर्दछन् । विदेशबाट नेपाल भ्रमणमा आउने प्राध्यापक वैज्ञानिक अनुसन्धानकर्ता नेपालमा आउँदा एयरपोर्टमा यस सेवाको सहजै पहुँच हुने र नेपालले विश्व जगतका प्राज्ञिक व्यक्तित्वहरूलाई महत्त्वपूर्ण रुपमा लिएको सकारात्मक सन्देश विश्वजगतमा पुग्नेछ ।
 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ११ : २८ बजे